हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित नौलो बिहानी कृषि सहकारी संस्थाले आफ्नो १६औँ स्थापना दिवसको अवसरमा शेयर सदस्य किसानहरूलाई बेसारको बीउ वितरण गरेको छ। हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा बादरले प्रभावित क्षेत्रका किसानलाई सहायताका लागि बीउ वितरण गरिएको हो।
वडा नम्बर ६ का अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ३५ जना किसानलाई १० देखि ४० केजीसम्म बेसारको बीउ वितरण गरिएको हो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष दाहालले बाँदर आतंकका कारण अन्य बाली उत्पादनमा समस्या भएकाले बेसार खेतीलाई प्रवर्द्धन गर्न उपमहानगरले सहयोग गरेको बताए। उनले टनेल खेती र बीउ प्रवर्द्धनमा समेत वडाले विशेष योजना अघि सारेको जानकारी दिए।
संस्थाका अध्यक्ष विष्णु ढुंगानाका अनुसार, बीउ वितरण किसानको जग्गाको क्षेत्रफल र मागको आधारमा गरिएको हो, र आगामी वर्ष बीउ फिर्ता गर्ने व्यवस्था मिलाइएको छ। साथै, सहकारीले तेल मिल सञ्चालनको तयारीसमेत गरिरहेको जानकारी गराइएको छ।
नौलो बिहानी कृषि सहकारीमा हाल ४२१ जना शेयर सदस्य आबद्ध छन्। बादरको असरले अन्य बाली सखाप हुँदै गएको बेला बेसारको बीउ पाएपछि किसानहरू उत्साहित भएका छन्। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी कृषि प्राविधिक बिन्दु पोख्रेल, वडा सदस्य, विभिन्न सहकारी संस्थाका प्रतिनिधि, सञ्चारकर्मी र किसानहरूको उल्लेख्य उपस्थिति थियो।