हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ मा प्रहरीले लागुऔषध, इटालियन पेस्तोल तथा गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति ५० वर्षीय राजु स्याङ्तान हुन्, जसलाई प्रहरीले उनको घरबाट अवैध लागुऔषध र हातहतियार लुकाई राखेको अवस्थामा नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काका अनुसार, सूचनाका आधारमा खटिएको प्रहरी टोलीले स्याङ्तानको घरबाट ३ थान पेस्तोल, दुईवटा म्यागजिन र ३० राउण्ड गोली बरामद गरेको छ। साथै, उनको सुत्ने कोठामा सिरानीमुनि कपडामा बेरेर राखिएको दुई थान पेस्तोल र १८ राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, स्याङ्तानकै घरनजिक चन्द्रलाल मोक्तानको बारीमा रहेको रुखको फेदमा सेतो बोरामा बेरेर लुकाइएको अवस्थामा एक थान घरेलु कटुवा पेस्तोल, पाँच राउन्ड गोली, एक किलो ४८० ग्राम अफिम र २२ किलो ८०० ग्राम गाँजा समेत फेला परेको छ।
पक्राउ गर्ने क्रममा स्थानीयले अवरोध गरेपछि प्रहरी र स्थानीयबासीबीच झडप समेत भएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले १० राउण्ड हवाइ फायर गरेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए। त्यसपछि थप ४० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार स्याङ्तान यसअघि पनि दुई पटक लागुऔषध तथा हातहतियार मुद्दामा पक्राउ परेका थिए। उनले २०७१ सालमा लागूऔषध मुद्दामा दुई वर्ष र २०७६ साउन ४ गते पुनः लागुऔषध तथा हातहतियार मुद्दामा ५ वर्ष ६ महिना कैद सजाय भोगेका थिए। उनी २०८१ माघमा जेलमुक्त भएका थिए।
हाल स्याङ्तानविरुद्ध लागुऔषध तथा हातहतियार सम्बन्धी कसुरमा जिल्ला अदालत मकवानपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



































































