मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा सोनाम ल्होसारको अवसरमा २ दिन सांस्कृतिक कार्यक्रम हुने भएको छ । मनहरी गाउँपालिका–७, स्थित बुद्ध शान्ति हरित पार्कमा २८६१ (हुलल्हो) सोनाम ल्होछारको अवसरमा माघ १६ र १७ गते वृहत् साँस्कृतिक कार्यक्रम हुन लागेको बुधबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
तामाङ समुदायको भाषा, भेषभुषा, सामाजिक संस्कार र सस्कृतिको संरक्षण एवम् प्रवद्वर्न गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको ल्होछार मुल आयोजक समितिका संयोजक सुरेशकुमार मोक्तानले जानकारी दिनुभयो ।
सोही अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति र झाँकी समेत प्रदर्शन हुने उहाँले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय कलाकार ज्योति मगरसहित स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुति रहनेछ ।
कार्यक्रममा स्थानीय स्तरको मौलिक खाना तथा तामाङ समुदायको परिकार स्टलसँगै बाल उद्यान पनि रहने संयोजक मोक्तानले बताउनुभयो । कार्यक्रम सम्पन्न गर्न ८ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।



































































