हेटौंडा ६ लाई बिहीबार बालमैत्री वडा घोषणा गरिने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडालाई निकृष्ट बालश्रम मुक्त, बाल विबाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने भएको छ । मंसिर २७ गते बिहीबार “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी रहेको हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडा कार्यालयले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

पूर्ण खोप वडा घोषणा, पूर्व साक्षर वडा घोषणा, खुल्ला दिसामुक्त वडा घोषणा भई सकेको वडालाई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ सूचकमा अभ्यास गरी ५१ सूचक मध्ये हालसम्म ४८ वटा सूचक शतप्रतिशत र बाँकी ४ सूचकमा घोषणाका लागि आवश्यक न्युनतम प्रतिशत नतिजा हासिल गरेको वडा कार्यालयलले जनाएको छ ।

नेपाल सरकारले २०७१ साल मंसिर १६ गतेको निर्णयबाट हेटौंडा नगरपालिकालाई उपमहानगरपालिकामा स्तरवृद्धी गरिएको थियो । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा उपमहानगरपालिकाको १९ वडा मध्ये ६ नम्बर वडाको क्षेत्रफल ८.५४ वर्ग कि.मी. रहेको वडा कार्यालयलले जनाएको छ ।

यस्तै, वडा कार्यालयलका अनुसार पूर्वी सिमानामा वडा नंं १६ र १७, पश्चिममा वडा नंं ७, उत्तरतर्फ मकवानपुरगढी र दक्षिणमा वडा नंं १५ अवस्थित ६ नम्बर वडाको करिव बीच भागबाट पूर्व पश्चिम भएर कर्रा खोला बगेको छ ।

घरधुरी तथ्याङ्क संकलन सर्वेक्षण, २०७९ अनुसार १८ वर्ष मुनिका २ हजार १ सय बालबालिका रहेको ६ नम्बर वडामा १ हजार १ सय ३४ बालक र ९ सय ६६ बालिका रहेका छन् । तथ्याङ्क अनुसार कुल बालबालिकाको जनसंख्यालाई आधारमान्दा ४६.१४ प्रतिशत बालिका र ५३.८५ प्रतिशत बालक रहेका छन् ।

सामुदायिक, संस्थागत र विशेष विद्यालय गरि बाल विकास केन्द्र सहितका जम्मा ७ वटा विद्यालयहरु सञ्चालन रहेको ६ नम्बर वडामा १९ वटा बालसमूहरु र १ वडा बाल सञ्जाल रहेको बताइएको छ। जसमा, ४ सय ७५ जना बालवालिकाहरु आवद्ध रहेको र विभिन्न संरचनागत समितिहरुमा समेत गरी जम्मा ४ सय ९७ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको वडा कार्यालयलले जनाएको छ ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.