हेटौँडा-७ लाई प्लाष्टिकमुक्त वडा घोषणा

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोगमुक्त अभियानलाई तीव्रता दिएको छ। बिहीबार आयोजित एक विशेष कार्यक्रमका बीच बागमती प्रदेशमै पहिलोपटक हेटौँडा–७ लाई ‘पातलो प्लाष्टिक झोला प्रयोगमुक्त वडा’ घोषणा गरिएको छ।

नगरप्रमुख मीनाकुमारी लामाले प्लाष्टिकजन्य प्रदूषणले वातावरण र मानव स्वास्थ्यमा गम्भीर चुनौती थपेको भन्दै यो अभियानलाई क्रमशः उपमहानगरका सबै वडामा विस्तार गरिने बताउनुभयो। “वातावरण संरक्षणका लागि प्लाष्टिकको प्रयोग न्यूनीकरण अपरिहार्य छ,” उहाँले भन्नुभयो, “वडाबाट सुरु भएको यो प्रयासमा स्थानीय महिला, विद्यार्थी, टोल विकास संस्था र आमा समूहको भूमिका निर्णायक रहनेछ।”

बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको योजनाअन्तर्गत ‘एक जिल्ला, एक वडा प्लाष्टिक मुक्त’ अभियानका रूपमा सञ्चालित यो कार्यक्रममा सहभागीहरूले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको प्रयोग नगर्ने र यसलाई निरुत्साहित गर्ने लिखित प्रतिबद्धता जनाएका छन्। प्रतिबद्धतापत्रमा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नगरप्रमुख लामा, वडाध्यक्ष दामोदर गौतमलगायत सरोकारवालाहरूले हस्ताक्षर गर्नुभएको छ।

प्लाष्टिकको विकल्पमा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्दै स्वच्छ र हरित हेटौँडा निर्माण गर्ने लक्ष्य उपमहानगरले लिएको छ। स्थानीय स्तरबाटै थालिएको यो अभियानले वातावरण संरक्षणमा महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.