हेटौँडा । बागमती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषित गरिएको छ। भक्तपुरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बागमतीका सबै १३ जिल्लाले आवश्यक खोप पूर्ण रुपमा उपलब्ध गराईसकेको आधारमा उक्त घोषणा गर्नुभएको हो।
प्रधानमन्त्री ओलीले १६ देखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाभित्र लगाउनुपर्ने सम्पूर्ण खोपहरू सफलतापूर्वक प्रदान गरिएको पुष्टि गर्दै यो उपलब्धिलाई राष्ट्रिय खोप समन्वय समितिबाट प्रमाणीकरण पनि भइसकेको जानकारी दिनुभयो। उहाँले बाल स्वास्थ्यको क्षेत्रमा यो उपलब्धिले समृद्ध नेपाल, सुखी नेपाली अभियानलाई थप बल दिने विश्वास व्यक्त गर्नुभयो।
“नेपाललाई समृद्ध र आधुनिक बनाउने, नेपाली जनतालाई सुखी बनाउने लक्ष्यभन्दा ठूलो केही हुन सक्दैन,” भन्दै प्रधानमन्त्री ओलीले सरकार त्यसै मार्गमा दृढताका साथ अघि बढिरहेको बताउनुभयो।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संघीयता कार्यान्वयनसँगै स्वास्थ्य क्षेत्र उल्लेख्य रूपमा सुधार भएको बताउनुभयो। उहाँका अनुसार जनताको आवश्यकता र आकांक्षालाई मध्यनजर गर्दै स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा धेरै कामहरू भएका छन्।
मुख्यमन्त्री लामाले डिजिटल माध्यममार्फत रोग उपचार गर्न सकिने कुराको सफल अभ्यास प्रदेशले देखाएको पनि उल्लेख गर्नुभयो। “स्वस्थ भए मात्रै उत्पादनशील र रचनात्मक काम सम्भव हुन्छ,” उहाँले भन्नुभयो।
स्वास्थ्य मन्त्रालयका अनुसार, २०८२ असार ३० गतेसम्म बागमती प्रदेशका सबै जिल्लामा लक्षित उमेर समूहका बालबालिकाहरूलाई आवश्यक सम्पूर्ण खोपहरू दिइसकिएको थियो। यो उपलब्धिका साथ बागमती देशको पूर्ण खोप सुनिश्चित प्रदेश बन्ने पहिलो प्रदेश बनेको छ।
नेपाल सरकारले सन् २०१९ यता ‘पूर्ण खोप सुनिश्चितता कार्यक्रम’ अगाडि बढाउँदै आएको छ। यस अन्तर्गत १५ महिनाको उमेर नपुग्दै बालबालिकालाई दीर्घकालीन रोगविरुद्ध आवश्यक सम्पूर्ण खोप लगाउन सुनिश्चित गरिन्छ।
सरकारको यो कदम बाल मृत्युदर घटाउने, रोग नियन्त्रणमा सहयोग गर्ने र दिगो विकास लक्ष्य (SDG) पुरा गर्ने दिशामा ठूलो उपलब्धि मानिएको छ।






























