हेटौंडा-१ वडा अध्यक्षमाथि आक्रमण : सात दलहरूको संयुक्त विरोध

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा कार्यपालिका प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै अज्ञात व्यक्तिहरूले गरेको सांघातिक आक्रमणप्रति मकवानपुर जिल्लामा क्रियाशील प्रमुख सात राजनीतिक दलहरूले संयुक्त रूपमा विरोध जनाएका छन्।

गत २०८२ असार ४ गते भएको उक्त घटनाले लोकतान्त्रिक अभ्यासमाथि गम्भीर चुनौती दिएको भन्दै प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले घटनाको कडा शब्दमा भर्त्सना गरेका छन्। विज्ञप्तिमा समस्या समाधानको लोकतान्त्रिक उपाय संवाद र समझदारी भएको स्पष्ट पार्दै, शारीरिक आक्रमणजस्तो अमानवीय र अराजक कार्यलाई कुनै हालतमा स्वीकार गर्न नसकिने उल्लेख गरिएको छ।

दलहरूले दोषी पहिचान गरी तत्काल कानूनी दायरामा ल्याउन माग गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरसँग कडा भन्दा कडा कारबाही गर्न जोडदार माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “समस्याको समाधानको वैकल्पिक उपाय भौतिक आक्रमण होइन, यो त लोकतन्त्र प्रतिको अवमूल्यन हो।” साथै, यस्ता घटनाहरू पुनः नदोहोरिने गरी दोषीहरूलाई कानूनी दायरामा ल्याइ कडा कारबाही गर्नुपर्नेमा दलहरूको साझा मत रहेको छ।

संयुक्त प्रेस विज्ञप्ति जारीमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा,नेकपा एमाले मकवानपुरका उपाध्यक्ष हिदम लामा, नेकपा माओवादी केन्द्र मकवानपुरका भीम पाख्रिन, राप्रपा मकवानपुरका कार्यवाहक अध्यक्ष सागर थापा, राष्ट्रिय स्वतन्त्र पार्टी, मकवानपुरकी अस्मीता न्यौपाने, नेकपा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष विष्णु प्रसाद दहाल र राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरू प्रसाद सापकोटा रहेका छन् ।

उनीहरूले एक स्वरमा आक्रमणको निन्दा गर्दै जननिर्वाचित जनप्रतिनिधिहरूमाथिको यस्ता आपराधिक गतिविधिले लोकतन्त्र कमजोर बनाउने र त्यसलाई कुनै हालतमा सहन नहुने चेतावनी दिएका छन्। हेर्नुहोस् संयुक्त प्रेस विज्ञप्ति–

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.