मकवानपुर । तामाङ पत्रकार संघ मकवानपुरको आयोजनामा तामाङ समुदायको मौलिक लिपि (तामयिग) सम्बन्धी तीन दिने विशेष प्रशिक्षण कार्यक्रम हेटौंडामा सुरु भएको छ। तामाङ भाषा र लिपिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रम यहि जेठ ३० गतेसम्म सञ्चालन हुने छ।
कार्यक्रमको उद्घाटन संघका अध्यक्ष जयराम मोक्तानको सभाध्यक्षता तथा तामाङ पत्रकार संघका केन्द्रीय सचिव आदर्श सिं थोकरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
उद्घाटन सत्रमा प्रमुख अतिथि थोकरले तामाङ समुदायको भाषा, लिपि र संस्कृतिको संरक्षण अहिलेको आवश्यकता भएको बताए। उनले यस्ता प्रशिक्षणहरूले समुदायमा भाषिक चेतना र जातीय गर्वको भावना विकास गर्ने विश्वास व्यक्त गरे।
संघका अध्यक्ष मोक्तानले भने अहिलेको पुस्तामाझ तामाङ लिपिको प्रयोग हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले पत्रकार तथा युवाहरूलाई लिपिको सिकाइ र प्रयोगमा सक्रिय बन्न आग्रह गरे।
तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा (तामयिग) लिपिको परिचय, वर्णमाला, लेखन शैली, उच्चारण र व्यावहारिक प्रयोगबारे अनुभवी प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन्।
हेटौंडा–२ स्थित जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा भएको कार्यक्रममा संघका उपाध्यक्ष सन्देश थिङले स्वागत मन्तव्य दिएका थिए।
कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य मेन्बर लो, घेदुङ बागमती प्रदेश अध्यक्ष लिलाकुमार घलान, जिल्ला उपाध्यक्ष आत्मराम मोक्तान, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगर, मकवानपुर शाखा अध्यक्ष बालकृष्ण अधिकारी, राक्सिराङ गाउँपालिका उपाध्यक्ष वनस्तम थिङ, तामाङ पत्रकार संघ बागमती प्रदेश अध्यक्ष ज्ञानेन्द्र तामाङ, हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाका सहायक पाँचौँ तुलाराम पाण्डे, आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुर अध्यक्ष नवराज वाइबा, तामाङ कलाकार संघ मकवानपुर अध्यक्ष धिरेन लामा लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
तामाङ पत्रकार संघ मकवानपुरले अघिल्ला वर्षहरूमा पनि यस्ता लिपि तथा भाषा संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसपटकको प्रशिक्षण कार्यक्रमले तामाङ लिपिको संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
समाचार विवरण थप गरी सम्पादन गरिएको छ–सम्पादक