हेटौँडा । हेटौँडा उपमहानगरपालिकाको १९औँ नगर सभा अधिवेशनको दोस्रो दिनको बैठक विभिन्न महत्त्वपूर्ण निर्णय र सघन छलफलका साथ सम्पन्न भएको छ। उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा बसेको उक्त बैठकमा नगरको समग्र विकास, आगामी योजना तथा बजेटका विषयमा केन्द्रित रहेर छलफल गरिएको थियो। बैठकमा नगर सभाका सदस्यहरूले उपमहानगरको आगामी यात्रालाई जनमुखी बनाउने विषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो।
बैठकमा मुख्य एजेन्डाका रूपमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमाथि नगर सभा सदस्यहरूले विस्तृत छलफल गर्दै आ-आफ्ना महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुभएको थियो। बजेटलाई थप व्यावहारिक र नतिजामुखी बनाउनका लागि सदस्यहरूबाट आएका रचनात्मक सल्लाहहरूलाई समेटेर अघि बढ्ने विषयमा समेत बैठकमा सहमति बनेको छ।
यसैगरी बैठकमा विभिन्न वडाहरूबाट छनोट भई आएका योजनाहरूको समीक्षा गर्दै ती योजनाहरूको प्राथमिकता निर्धारण र बजेट बाँडफाँडका विषयमा समेत गम्भीर छलफल भएको थियो। वडा तहका योजनाहरूलाई न्यायोचित र सन्तुलित रूपमा बजेट विनियोजन गरी नगरका सबै क्षेत्रमा विकासको अनुभूति गराउने प्रतिबद्धता बैठकमा व्यक्त गरिएको छ। नगर प्रमुख लामाले सदस्यहरूबाट प्राप्त सुझावहरूले उपमहानगरको विकास प्रक्रियालाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।


































































