हेटौंडा । ‘राइड हेटौंडा टु सौराहा–२०८२’ नामक साइकल यात्रा शुक्रबार बिहानबाट सुरु भएको छ। स्वास्थ्य, वातावरण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले साइक्ल सिटी हेटौंडाको मुख्य आयोजनामा कार्यक्रम सुरु गरिएको हो।
यात्रामा १४ वर्षभन्दा माथिको उमेर समूहका ५६१ जना साइकलयात्रीले सहभागिता जनाएका छन्। हेटौंडाको बुद्धचोकबाट सुरु भएको यात्रा धार्मिक र पर्यटकीय स्थलको परिक्रमा गर्दै सौराहा पुग्नेछ। साइकलयात्रीहरूले हेटौंडादेखि चितवनसम्मको करिब ७५ किलोमिटर दूरी तय गर्नेछन्। आयोजकका अनुसार कार्यक्रम सञ्चालनका लागि अनुमानित खर्च २४ लाख ४५ हजार रुपैयाँ रहेको छ।
कार्यक्रमको उद्घाटन साइक्ल सिटी हेटौंडाका अध्यक्ष लेखनाथ ढकालको सभाध्यक्षता र बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री विमल चन्द्र ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। मन्त्री ठकुरीले उद्घाटन समारोहमा साइकललाई स्वस्थ जीवनशैलीको लागि उपयुक्त माध्यमको रूपमा व्याख्या गर्दै यसको प्रवर्द्धनमा सबैले भूमिका खेल्नुपर्ने बताए। उहाँले यो कार्यक्रम पर्यटन प्रवर्द्धनमा पनि प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।
साइकल यात्रामा संस्कृति तथा पर्यटन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत सहयोग रहेको छ।
कार्यक्रममा मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी, प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ, जिल्ला प्रहरी प्रमुख विश्वराज खड्का, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
सौराहा भ्रमणपछि शनिबार कार्यक्रम समापन हुने जानकारी आयोजकले दिएको छ।