बकैया गाउँपालिकामा ५९ भूमिहीन तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

हेटौंडा । भूमि समस्या समाधान आयोग जिल्ला समिति मकवानपुर र बकैया गाउँपालिका गाउँकार्यपालिकाको संयुक्त आयोजनामा बकैया गाउँपालिकाका भूमिहीन तथा सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरिएको छ।

बकैया गाउँपालिकाको वडा नं. ४ र वडा नं. ७ का गरी कुल ५९ जनालाई लालपुर्जा वितरण गरिएको हो। वडा नं. ४ को गाउँब्लकबाट १९ जनालाई र वडा नं. ७ का भूमिहीन, सुकुम्बासी तथा दलित समुदायका ४० जनालाई लालपुर्जा प्रदान गरिएको कार्यक्रमका आयोजकहरूले जनाएका छन्।

विशेष समारोह गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रहेका थिए। त्यस्तै, विशिष्ट अतिथिका रूपमा प्रतिनिधिसभा सदस्य सुकमाया तामाङ, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, संघीय सांसद महेश बर्तौला, प्रदेश सांसदहरू इन्द्र बहादुर बानिया र प्रेम बहादुर पुलामीको गरिमामय उपस्थिति रहेको थियो।

सो अवसरमा जिल्ला स्तरीय भूमि समस्या समाधान आयोगका अध्यक्ष तथा पदाधिकारी, गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर खत्री, सम्पूर्ण जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका स्थानीय तथा जिल्ला स्तरीय प्रतिनिधिहरू, संघसंस्थाका पदाधिकारीहरू लगायत सरोकारवाला निकायहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले दीर्घकालीन रूपमा सामाजिक न्यायको अभ्यास गर्दै स्थानीय बासिन्दाहरूको स्थायित्व, सुरक्षा र अधिकार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। लालपुर्जा वितरणसँगै लाभग्राहीहरूले कानुनी स्वामित्व पाएपछि उनीहरूको जीवनशैलीमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.