मकवानपुर । हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना एवं शैक्षिक गुणस्तर सुधार समिति हेटौंडाको व्यवस्थापनमा ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित दोस्रो खेलकुद महोत्सव २०८१ को पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम गरिएको छ ।
माघ ९ गतेदेखि सुरु भई फागुन ५ गतेसम्म सञ्चालन भएको दोस्रो खेलकुद महोत्सव-२०८१ को विविध खेलकुदका विजेता र उपविजेतालाई सोही समारोहका बिच पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यता, ४ नं. वडा कार्यालयका अध्यक्ष नवीन सिग्देल, ११ नं. वडा अध्यक्ष जुना दाहाल, शैक्षिक गुणस्तर सुधार समिति हेटौँडाका अध्यक्ष श्रीराम दाहाल, टोल विकास संस्था नगर समन्वय समिति महासचिव शिवहरि दाहाल लगायतकाले विजेतालाई पुरस्कार वितरण गरे ।

हेटौँडा उपमहानगरपालिका वडा नम्वर ४ स्तरीय खेलकुद प्रतियोगितामा भुटनदेवी माध्यमिक विद्यालय प्रथम भएको छ । समग्रमा एथ्लेटिक्स विद्यातर्फ भुटनदेवी विद्यालयले प्रथम, दोस्रो र तेस्रो स्थानमा क्रमशः समान ८ अंक हासिल गर्दै प्रथम भएको हो । हेटौँडा–४ मा रहेका विद्यालयको व्यवस्थापनमा भएको नगरस्तरीय खेलकुद प्रतियोगितामा विजयी भएको विद्यालयलाई शिल्ड , मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । जसअन्तर्गत क्रिकेट, भलिबल, फुटबल र बास्केटबल खेल सञ्चालन भएको थियो ।

यस्तै, खेलकुद महोत्सवका गतिविधिहरू प्रकाशन तथा प्रसारण गरी योगदान पुर्याएको भन्दै पत्रकारद्वय अनिल पराजुली र रोहित थापालाई सम्मान गरिएको थियो । नगरका १९ वडामध्ये ४ नम्बर वडाले विद्यालय तहको शिक्षा सुधार तथा विद्यार्थीका लागि खेलकुद तथा रचनात्मक क्रियाकलापको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएको छ ।

४ नं वडा सदस्य गिता त्रिपाठीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा हेटौँडा–१५ का वडाध्यक्ष सुनिल मोक्तान, हेटौँडा उपमहानगरपालिका भीम तिमल्सिना, मकवानपुर बहुमुखी क्याम्पस प्रमुख यम सिलवाल, हेटौंडा क्याम्पस कोषाध्यक्ष नमुना पाण्डे लगायतकाको कार्यक्रममा उपस्थिती थियो ।



































































