मकवानपुर । हेटौँडामा आउँदो फागुन ७ गतेदेखि अनुपम घलान स्मृति नगर स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरीको पहिरोमा परी निधन भएका फुटबल खेलाडी घलानको स्मृतिमा हेटौंडा उपमहानगरपालिकाले फुटबल प्रतियोगिता गराउने भएको हो ।
नगर खेलकुद विकास समितिको व्यवस्थापनमा हुने १६ बर्ष मुनिको प्रथम अनुपम घलान स्मृति फुटबल प्रतियोगिता यही फागुन ७ गतेदेखि सञ्चालन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । हेटौंडा– ५ क्याम्पा रंगशालामा हुने प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँका साथै शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्ने नगर खेलकुद विकास समिति अध्यक्ष रविन्द्र घिमिरेले जानकारी दिनुभयो । दोस्रो हु्ने टिमले नगर ७० हजार प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडी ,उत्कृष्ट फरवार्ड, उत्कृष्ट किपर, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट डिफेन्सलाई जनही ५ हजार विधागत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिगतामा हेटौंडा उपमहानगर भित्रका वडाबाट सिफारिस भईआएका टीमको सहभागिता रहने बताइएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा सञ्चालित सिस्नेरीस्थित वत्सला देवी माविको प्रशिक्षण केन्द्रमा फुटबल प्रशिक्षण लिइरहेका हेटौंडा १२ का घलानकोे १३ वर्षको उमेरमा पहिरोमा परि मृत्यु भएको थियो । उनै घलानको स्मृतिमा फुटबल खेल सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाले यस आर्थिक वर्षमा सात लाख रुपैया बजेट विनियोजन गरेको छ । आगामी बर्षहरुमा समेत प्रतियोगितालाई निरन्तरता दिइने बताइएको छ ।