मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरले हेटौंडामा व्यापार महोत्सव गर्ने भएको छ । २०७१ सालमा पहिलो पटक महोत्सव गरेको संघले १० वर्षपछि महोत्सव गर्न लागेको हो । दोश्रो संस्करणको रुपमा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ फागुन ६ गतेदेखि १८ गतेसम्म हेटौंडा १० स्थित टिसिएन चौरमा महोत्सव गर्न लागिएको हो ।
निर्माण व्यवसायीसंगै आर्थिक गतिविधिलाई समेत थप चलायमान बनाउन महोत्सवले योगदान पु¥याउने संघका अध्यक्ष बालगोपल कँडेलले बताए । महोत्सवमा निर्माण उद्योग क्षेत्रको वर्तमान समस्या, चुनौती, अवसरका बारेमा छलफल, गोष्ठी लगायतका अन्तरक्रियात्क कार्यक्रम हुनेछ ।
निर्माणको क्षेत्रमा प्रयोगमा आएका अत्याधुनिक उपकरण र निर्माण सामग्रीहरुको प्रदर्शनी र बिक्री समेत गरिने अध्यक्ष कँडेलले बताए । महोत्सवको अवधिमा निर्माण व्यवसायी, दर्शक, उपभोक्ताहरुका राय, सल्लाह, सुझाव समेत संकलन गरिने छ । महोत्सवमा निर्माण उपकरण, निर्माण सामग्री, औद्योगिक उत्पादन, स्थानीय उत्पादन, हस्तकला सामग्री लगायतका ३ सय ५० वटा स्टलहरु रहनुको साथै गायन क्षेत्रको आइडल र मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति समेत रहनेछ ।
महोत्सवको प्रवेश शुल्क ७५ रुपैंया र विद्यार्थीको लागि ५० रुपैंया तोकिएको आयोजकले जनाएको छ । महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न २ सय ११ सदस्यीय महोत्सव मुल आयोजक समिति र विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ ।