सोनाम ल्होछारको अवसरमा प्रदेश प्रमुख देवकोटाको शुभकामना

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज विहीबार परेको सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

“सोनाम ल्होछार २०८१ को अवसरमा बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु” देवकोटाको शुभकामना सन्देशमा भनिएको छ ।

नेपालमा खासगरी मध्य भागको हिमाली, उच्च पहाडी र पहाडी भुभागमा बसोबास गर्ने संस्कृतिका धनी तामाङ समुदायले सोनाम ल्होछार पर्वलाई नाचगान, आफन्त भेटघाट र खानपिन गरेर रमाइलोका साथ मनाउने प्रचलन छ । यो पर्वमा कुलपूजा र प्रकृति पूजा गर्ने परम्परा छ । चेलीबेटी बोलाएर टीका लगाइदिने गरिन्छ । परम्परागत पहिरनले सजिएर एक ठाँउमा भेला भै तामाङ्सेलो नाच प्रस्तुत गरिन्छ ।

घर बस्तिहरू सफा राख्नुका साथै बुद्धका तस्बिर अङ्कित ध्वजापताका टाँगेर भगवान बुद्धप्रति श्रद्धाभाव प्रकट गरिन्छ । गुम्बा, चैत्यहरूमा पूजा गरिन्छ । बौद्ध परम्पराका रितिरिवाजलाई आधार मानी हासीखुसीका साथ ल्होछार मनाइन्छ ।

प्रदेश प्रमुख देवकोटाले चाडपर्वहरू साँस्कृतिक सम्पन्नताका परिचायक भएको उल्लेख गर्दै यस्ता पर्वहरूले एकता, मेलमिलाप, शान्ति र सौहार्दता अभिबृद्धिमा सघाउ पुर्‍याउने सन्देशमा उल्लेख गरेका छन् ।

“हाम्रा चाडपर्वहरू सभ्य, सुखी र समृद्ध जीवनका आधारस्तम्भ हुन्” शुभकामना सन्देशमा भनिएको छ“ सोनाम ल्होछारले तामाङ समुदायलगायत सम्पूर्ण नेपालीमा सकारात्मकता र उल्लास भित्र्याउन सफल रहोस् ।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.