मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले आफ्नो नियुक्ति पश्चात सय दिनमा हाँसिल गरेका उपलब्धिहरू सार्वजनिक गरेका छन् ।
गत साउन ९ मा मन्त्री नियुक्त भएका उनले आफुले सम्हालेको मन्त्रालय अन्तर्गत सम्पन्न मुख्य कार्य तथा उपलब्धिहरु सार्वजनिक गरेका हुन् ।
उनले आफुले सो मन्त्रालयको पद सम्हालेपछि राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पदक बिजेता खेलाडीहरुलाई पुरस्कार रकमको व्यवस्था गरी पुरस्कृत गर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
यस्तै, उनले गौरीटार अन्तर्राष्ट्रिय खेलकुद पूर्वाधार निर्माण योजनाको ठेक्काको म्याद थप गरिएको, चौतारा रंगशाला निर्माण योजनाको म्याद थप सम्बन्धी फायल प्रकृया संगत नदेखिएकोले म्याद थप सम्बन्धी फायल अस्वीकृत गरिएको, मन्त्रालय वा अन्तर्गत सरुवा तथा पदस्थापन भई आएका अधिकृतस्तर कर्मचारीहरुको पदस्थापन तथा जिम्मेवारी तोक्ने कार्य भएको बताए ।
यसैगरी, खरिद सम्बन्धी कार्यहरु अगाडि बढाइएको, चारपाङ्ग्रे सवारी साधन (हलुका) खरिद गरिएको तथा दुइपाङ्ग्रे सवारी साधन खरिद गर्ने प्रकृयामा रहेको उनले बताए ।
यस्तै, संविधान दिवस तथा राष्ट्रिय दिवश २०८१ को अवसरमा खेलकुद कार्यक्रम अन्तर्गत अन्तरमन्त्रालय भलिवल प्रतियोगिताको आयोजना गरिएको, जिल्लास्थित खेलकुद विकास समितिका पदाधिकारी एवम् कर्मचारीहरुलाई वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यक्रम आयोजना गरी सम्पन्न भएको र मन्त्रालय तथा मातहतका निकायहरुबाट वार्षिक रुपमा कार्यान्वयन गरी सम्पन्न गर्नुपर्ने कार्यक्रमहरुको कार्यान्वयन कार्ययोजना तयार गरी स्वीकृत समेत गरेको उनको भनाई छ ।
त्यस्तै, सो मन्त्रालयले जिल्ला खेलकुद विकास समितिहरुको विविध खेलकुद विकास स्वीकृतिका लागि प्रकृयामा राखेको र बागमती प्रदेशभित्रका १ हजार ३०० युवाहरुका लागि सीपमूलक तालिम सञ्चालन गर्न सेवा परामर्श खरिद कार्यको सुरुवात भएको उनले बताए ।