थाहा नगरपालिका पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा

हेटौँडा । मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको छ। आइतबार आयोजित विशेष कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले औपचारिक रूपमा थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गर्नुभयो। यससँगै थाहा नगरपालिका मकवानपुरको पहिलो र बागमती प्रदेशको दोस्रो पूर्ण संस्थागत सुत्केरी नगरपालिका बनेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले महिला स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरूको निरन्तर मेहनतका कारण यो उपलब्धि सम्भव भएको बताउनुभयो। उहाँले थाहा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको योगदान उल्लेखनीय रहेको दाबी गर्दै उत्तरी क्षेत्रको स्वास्थ्य, शिक्षा, पर्यटन तथा सडक विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले थाहा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा प्रशंसायोग्य कार्य गरेको उल्लेख गर्नुभयो। प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मातृ तथा नवजात शिशु मृत्युदर घटाउन प्रदेशभर बर्थिङ सेन्टर स्थापना गर्ने र सुत्केरी आमाहरुलाई हवाई उद्धार सुविधा उपलब्ध गराउने अभियान सञ्चालनमा रहेको जानकारी दिनुभयो।

स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीका अनुसार पछिल्लो ६ वर्षयता नगरपालिकाभित्रका सबै गर्भवती आमाले स्वास्थ्य संस्थामै बच्चा जन्माएका छन्। आवश्यक सबै सूचक पूरा भएपछि थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणा गरिएको उहाँले बताउनुभयो।

१२ वडामा विभाजित थाहा नगरपालिकाले २०७६ साउन १७ गते ६ नम्बर वडालाई पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको थियो। गत आर्थिक वर्ष नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा ३५६ जना सुत्केरी भएका थिए। हाल थाहा नगरपालिकामा १२ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन्।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.