मकवानपुर । रामेछाप नगरपालिका–८ सल्लाका ३४ वर्षीय सन्तोष कुमार तामाङ वैदेशिक रोजगारीको क्रममा गत फागुन १६ गते साउदी अरब गएका थिए। तर, दुर्भाग्यवश जेठ १८ गते त्यहाँ दुर्घटनामा परी उनको ज्यान गयो।
शोकसँगै आर्थिक संकटले थप पीडित भएको सन्तोषको परिवारमाथि करिब ३१/३२ लाख रुपैयाँ ऋणको बोझ थियो। घरमा श्रीमती र तीन छोरी मात्र थिए। यस्तै कठिन घडीमा हेटौँडाका पत्रकार सुनिता विष्टले वास्तविकता उजागर गर्दै नेपालखबरमा समाचार लेखिन्।
समाचारमार्फत् यो पीडादायी अवस्था बाहिर आएपछि देश–विदेशमा रहेका धेरै सहयोगी मनहरुले सन्तोषको परिवारलाई आर्थिक सहयोग गर्न थाले। त्यसकै परिणामस्वरूप शव नेपाल ल्याउन सहज भयो र ऋणसमेत तिर्न सकियो।
सन्तोषका कान्छा भाइ तीर्थ तामाङका अनुसार, पत्रकार विष्टको कलममार्फत् तथ्य सार्वजनिक नभएको भए यति ठूलो सहयोग सम्भव नहुने थियो। उनले भने, “दुःखको समयमा उहाँले समाचार लेखिदिनु भयो, त्यसैले आज हाम्रो परिवार ऋणमुक्त भएको छ।”
यसबीच, सन्तोषको परिवारले सहयोग गर्ने सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीप्रति आभार व्यक्त गर्दै धन्यवाद पत्रसमेत हस्तान्तरण गरेको छ। उक्त धन्यवाद पत्र हेटौँडामा पत्रकार विष्टलाई नै प्रदान गरिएको छ।































