हेटौंडामा आठौँ कोरा साइकल च्यालेन्ज साउन ३ गते हुने

हेटौँडा । हेटौँडामा साइकलयात्राको प्रवर्द्धन र धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यसहित कोरा साइकल च्यालेन्जको आठौँ संस्करण साउन ३ गते आयोजना हुने भएको छ। हेटौँडा राइडर्स क्लबको आयोजनामा हुने उक्त साइकल च्यालेन्जबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।

क्लबका अध्यक्ष विकास ताम्राकारका अनुसार, हेटौँडा सहरलाई साइकलसँग जोड्ने र स्थानीय तीर्थस्थल तथा बस्तीहरूलाई चिनाउने उद्देश्यले कोरा साइकल यात्रा २०१८ देखि नियमित रूपमा आयोजना हुँदै आएको छ। यस वर्षको च्यालेन्जमा ५० किलोमिटर लामो दूरीको साइकल यात्रा हुनेछ, जसमा १२ वर्षभन्दा माथिका महिला र पुरुष सहभागी हुन पाउनेछन्।

च्यालेन्जमा मकवानपुरसँगै चितवन, बारा, पर्सा र काठमाडौँबाट समेत साइकलयात्रीहरूको सहभागिता रहनेछ। यसपटक ३ सयभन्दा बढी सहभागी हुने अपेक्षा गरिएको छ।

कोरा साइकल च्यालेन्ज हेटौँडाको पशुपति मन्दिरबाट शनिबार बिहान ७ बजे सुरु हुनेछ। यात्राले फरेष्टि कलेजको जंगल हुँदै भुटनदेवी मन्दिर, टिसिएन रोड, बुद्धचोक, चौकीटोल, जलेश्वर मन्दिर, वनस्खण्डी मन्दिर, मनकामना चोक, सानोपोखरा, रुद्रेश्वर मन्दिर, हेटौंडा रिसोर्ट, क्याम्पा, चौघडा, चुच्चेखोलाबाट शिवम्, हटिया गौरीटार, रिद्धिसिद्धि सिमेन्ट, रातोमाटे, मास्टर चोक हुँदै त्रिवेणीधाम र मेनरोड पार गर्दै बुद्धचोकमा समापन हुनेछ।

क्लबका सदस्य विपीन ताम्राकारका अनुसार, कार्यक्रममा सहभागी हुनका लागि तीन सय रुपैयाँ दर्ता शुल्क लाग्नेछ। क्लबले अघिल्ला वर्षहरूमा साइकल ¥याली, टुर र राष्ट्रिय स्तरको साइकल रेससमेत आयोजना गर्दै आएको छ।

साइकलयात्रा मार्फत हेटौँडाको धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यको प्रवर्द्धनसँगै स्वस्थ जीवनशैलीको सन्देश फैलाउने प्रयासमा क्लबले यो अभियानलाई निरन्तरता दिएको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.