मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–२, रातमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाण्डौं सडकखण्डमा आज दिउँसो भएको ई.भी. दुर्घटनामा ५ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार, म.प्र.०३–००१ ज ०५५१ नम्बरको ई.भी. गाडी हेटौँडाबाट काठमाण्डौं जाँदै गर्दा दिउँसो १ बजे दुर्घटना भएको हो। गाडी घुम्तीमा ब्रेक हानेको बेला टायर चिप्लिएर करिब १५ मिटर तल खसेको उनले जानकारी दिए।
गाडीमा १० जना सवार थिए। तीमध्ये पर्साको जिराभवानी गाउँपालिका–३ का ३५ वर्षीय चन्द्र सन्जु गौरे, भारत विहारका ३९ वर्षीय रिसाहद कुमार र ३५ वर्षीय उमाशंकर कुमार गम्भीर घाइते भएका छन्। गौरेको दायाँ हात र काँधमा, रिसाहद कुमारको हात, ढाड र कुममा तथा उमाशंकर कुमारको हात र घाँटीमा चोट लागेको छ।
त्यसैगरी, २७ वर्षीय जताशंकर कुमारको गाला र निधारमा र ५० वर्षीय राकेश कुमारको टाउकोमा सामान्य चोट लागेको छ। गम्भीर घाइतेहरुलाई तत्काल उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको प्रवक्ता अर्यालले बताए।
प्रहरीका अनुसार सवारी चालक पर्साको परमाणीपुर गाउँपालिका–२ निवासी २२ वर्षीय वर्सिराजाराम साहलाई नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान भइरहेको छ।































