हेटौंडा । “हाम्रा व्यवसायीहरू भाग्ने होइनन्, केही लचकता देखिनुपर्छ,” मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाटले आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो भावुक अभिव्यक्ति दिनुभयो।
मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा भएको उक्त अन्तरक्रियामा हेटौंडा उपमहानगरपालिकाका व्यवसायीहरू र विभिन्न बैंकका शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता थियो। कार्यक्रममा बैंकिङ प्रणालीमा देखिएका जटिलता, व्यवहार, तथा समाधानका उपायबारे प्रत्यक्ष संवाद भयो।

अध्यक्ष रानाभाटले हालको मन्दीपछिको व्यापारिक कठिनाइ उल्लेख गर्दै बैंकहरूप्रति लचिलो र समझदारीपूर्ण दृष्टिकोण अपनाउन आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “दुई–चार किस्ता ढिलो हुनु ठूलो कुरा होइन। बैंकहरूले सामाजिक संवेदनशीलता देखाउनुपर्छ।”
उहाँले एक उदाहरण दिँदै थपे, “छोराले लिएको ऋणको कारण देखाएर घरमा पुगेर आमाबुबालाई मानसिक दवाब दिने प्रवृत्तिले बैंकप्रतिको भरोसा घटाउँछ।” उहाँको भनाइमा स्पष्ट सन्देश थियो — समस्या समाधानका लागि सहकार्य आवश्यक छ, न कि कठोर व्यवहार।

अन्तरक्रियामा सहभागी व्यवसायीहरूले कर्जा नवीकरणमा ढिलाइ, उच्च ब्याजदर, अत्यधिक कागजी प्रक्रिया र सेवाग्राहीप्रति देखिने असहज व्यवहारप्रति पनि गुनासो गरे। व्यवसायीहरूले बैंकहरूसँग सहकार्य गर्न आफूहरू सधैँ तयार रहेको जनाउँदै पारस्परिक विश्वासमा जोड दिए।

बैंक प्रतिनिधिहरूले व्यवसायीहरूको गुनासोप्रति गम्भीर चासो व्यक्त गरे। उनीहरूले नीतिगत र प्रक्रियागत सीमाभित्र रहेर सुधार गर्ने प्रतिवद्धता जनाए। साथै, यतिबेला कर्जाको ब्याजदर न्यून रहेकोले लगानीका लागि यो उपयुक्त समय भएको धारणा पनि व्यक्त गरे।




































































