मकवानपुर । हेटौँडामा आजदेखि दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सुरु हुँदैछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा निर्माण व्यवसायी संघ मकवानपुरले महोत्सव तयारी सम्पन्न भएको जानकारी गराएको छ।
१० वर्षपछि पुनः आयोजना हुन लागेको महोत्सवको उद्घाटन नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गर्नेछन्। उद्घाटन समारोहमा सबैलाई निःशुल्क प्रवेशको सुविधा प्रदान गरिनेछ।
महोत्सवमा ३५० भन्दा बढी स्टल रहनेछन्, जसमा निर्माण सामग्री उत्पादक, उद्योगी, व्यवसायी, हस्तकला व्यवसायी, महिला उद्यमी तथा उपभोक्ताहरूको सहभागिता रहनेछ। मकवानपुरका उद्योगी तथा व्यापारीहरूलाई विशेष सहुलियतस्वरूप स्टल भाडामा ५० प्रतिशत छुट दिइएको छ।
निर्माण उपकरण तथा औद्योगिक व्यवसाय प्रवर्द्धनका लागि विशेष अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिनेछ। यसले व्यवसायी, बिक्रेता र उपभोक्ताबीच समन्वय कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
महोत्सवको प्रमुख आकर्षण ‘हेटौंडा आइडल’ प्रतियोगिता हुनेछ, जहाँ मकवानपुरका १६ जना नवप्रतिभाहरूले आफ्नो गायन प्रस्तुति दिनेछन्। प्रतियोगिताको विजेता दर्शक भोटिङमार्फत घोषणा गरिनेछ।
फागुन १८ गतेसम्म हेटौंडा–१० स्थित टिसिएन चौरमा चल्ने महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति हुनेछ। बाल उद्यान, विविध परिकारका खानाका स्टलहरू तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरू समेत महोत्सवमा समावेश छन्।
करिब १ लाख ५० हजार आगन्तुकले महोत्सव अवलोकन गर्ने अनुमान गरिएको छ भने करिब ३ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा आयोजकले गरेको छ।































