मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ मा युवायुवतीहरु बिचमा जीवन उपयोगी तथा जनचेतनामूलक कार्यक्रम आयोजना हुने भएको छ । अराइज एण्ड साइन नेपाल संस्थाले हेटौँडामा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै जन चेतनामुलक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको हो ।
राष्टिय योजना आयोगको सचिवालय तथा तथ्याङ्क विभागका अनुसार कडा लागुपदार्थ सेवन गर्ने अधिकांश व्यक्ति एसईई तथा १० कक्षा उत्तीर्ण र तल्ला कक्षाका विद्यार्थीहरू लगभग ७० प्रतिशत रहेका छन् । यस्तो किसिमको विकराल समस्या देखिनुको मुख्य कारण ८२ प्रतिशत भन्दा बढी साथीहरुको दबाब र संगत रहेको कार्यक्रम संयोजक राधिका लामाले बताईन। साथै हेटौंडा उपमहानगरपालिकाका विभिन्न ठाउँहरुमा सर्वेक्षण गर्दा हेटौंडा वडा नम्बर ११ सिमलटार जोखिममा रहेको लामाले जानकारी दिईन् ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य विकास नेपालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा अराइज एण्ड साइन नेपालका समिति सदस्य सरोज क्षेत्री, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञराज आचार्य, संचारकर्मी गोविन्द न्यौपाने, हेटौंडा ११ सिमलटार टोल विकास सस्थाका पूर्व अध्यक्ष मधुकर थापा मगर लगायतको उपस्थिति रहेको थियो ।
देशमा रहेका किशोर किशोरी तथा युवा युवतीहरु विभिन्न कारणले जोखिममा पर्नुका साथै पारिवारिक कारणले गर्दा परिवार तथा समाजमा रहेर कुशलतापूर्वक आफ्नो कार्य गर्न नसकेको अवस्थमा आवश्यक परामर्श दिनुका साथै जनचेतनामूलक कार्यक्रमहरु गर्दै सामाजको निमार्ण, उत्थान र विकास गर्ने हेतुले यो संस्था स्थापना गरिएको यस संस्थाका कार्यकारी निर्देशक यहोशू लिम्बूले बताएका छन।