हेटौँडा । आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटअनुसार मकवानपुर देशभरका ७७ वटा जिल्लामध्ये १२औँ बढी बजेट प्राप्त गर्ने जिल्लामा पर्न सफल भएको छ। प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीले सामाजिक सञ्जाल फेसबुकमार्फत यो खुसीको खबर सार्वजनिक गर्नुभएको हो।
सांसद उप्रेतीका अनुसार यस पटकको संघीय बजेटमा पूर्वाधार, सडक, पुल, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, ऊर्जा तथा स्थानीय तहका विभिन्न विकास निर्माणका योजनाहरूका लागि अर्बौँ रुपैयाँ बराबरका कार्यक्रमहरू समावेश गरिएका छन्। जिल्लाको मुहार फेर्ने गरी आएका यी योजनाहरूको कार्यान्वयनबाट समग्र मकवानपुरको विकासमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।
बजेटको घोषणासँगै सांसद उप्रेतीले प्राप्त बजेटको प्रभावकारी र पारदर्शी कार्यान्वयनका लागि सबै पक्षको सहकार्य र समन्वय उत्तिकै आवश्यक रहेको औंल्याउनुभएको छ। साथै, उहाँले मकवानपुरको दीर्घकालीन र समग्र विकासका लागि आगामी दिनमा पनि आफ्नोतर्फबाट निरन्तर पहल र प्रयत्न जारी राख्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ।




























