हेटौँडा । हेटौँडामा पहिलो पटक ड्रागन फ्रुट महोत्सव सुरु भएको छ। प्रादेशिक कृषि थोक बजार सञ्चालन समिति एवम् ड्रागन फ्रुट महोत्सव उपसमितिको आयोजनामा हेटौँडा–११ स्थित प्रादेशिक कृषि थोक बजार परिसरमा बिहीबारदेखि महोत्सव सुरु भएको हो। “उत्पादकदेखि उपभोक्तासम्म ताजा र गुणस्तरीय उत्पादन” भन्ने मूल नाराका साथ आयोजित यस महोत्सव आगामी असार १३ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवका लागि बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय तथा हेटौँडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेका छन्।

आयोजक समितिका संयोजक सूरज थिङका अनुसार ड्रागन फ्रुट उत्पादक किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरी उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो। पछिल्ला वर्षहरूमा मकवानपुरमा ड्रागन फ्रुटको व्यावसायिक खेतीमा उल्लेख्य वृद्धि भए पनि बजार व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा यो महोत्सवले किसानलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ। महोत्सवमा रातो, सेतो र पहेँलो प्रजातिका ड्रागन फ्रुटको प्रदर्शनी तथा सहुलियत मूल्यमा बिक्रीको व्यवस्था गरिएको छ। यसका साथै ड्रागन फ्रुटबाट तयार गरिएका जुस, जाम, सलाद तथा फूलबाट बनाइएको ग्रीन टी समेत प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ।

महोत्सवको अवधिमा करिब २ हजार ५ सय देखि ३ हजार किलोग्राम ड्रागन फ्रुट बिक्री हुने अनुमान गरिएको छ। साथै, महोत्सवको समापन समारोहमा सबैभन्दा बढी उत्पादन गर्ने, उत्कृष्ट बिक्री गर्ने र उत्तम ‘बाइ–प्रोडक्ट’ उत्पादन गर्ने किसानहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्रद्वारा सम्मान गरिने आयोजकले जनाएको छ। हाल मकवानपुरको मनहरी, बकैया, बागमती गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा गरी करिब ४० देखि ५० जना किसानले व्यावसायिक रूपमा यस फलको खेती गरिरहेका छन्।






































































