अप्रत्यासित चुनाव, आन्दोलन र भविष्यको मोडमा देश

लेखक देवी प्रसाद गौतम

संसारको सुन्दर देश नेपालमा जनताका समस्या धेरै थिए। यहाँ समस्या थिएन भन्ने होइन। यही समस्यालाई लिएर फेसबुक नभई एकछिन बाँच्न नसक्ने कलिला केटा–केटीलाई भ्रष्टाचारका नाममा उक्साएर ‘जेन–जी आन्दोलन’ गराइयो। मुख्य मुद्दा फेसबुक बन्द गराइएको बाहाना थियो, त्यसमा अन्य कुरा जोडेर ल्याइयो।

त्यो आन्दोलन धेरै समय टिकेन। धेरै नेपालीले यसबारे स्पष्ट रूपमा बुझेका पनि थिएनन्। गत भदौ २२ गते नेपाली बजारमा एउटा सनसनीपूर्ण हल्ला फैलियो। यस्तो लाग्थ्यो, यो तयारी धेरै पहिलेदेखि नै गरिएको थियो। त्यसदिन देशभर २३ गते के हुने हो भन्ने जिज्ञासा रह्यो। २२ गते प्रधानमन्त्री ओलीले संयुक्त सुरक्षा फौजसँग के सल्लाह गरे, त्यो सार्वजनिक भएन। २३ गते बिहानैदेखि ‘जेन–जी’ भनिने युवाहरू काठमाडौंका मुख्य सडक, सिंहदरबार, बालुवाटार, माइतीघर वरपर जम्मा भइरहेको भिडियो सार्वजनिक भए।

महानगरका ‘पिता’ भनिने व्यक्तिले अभियन्ता नआउनु भनेर मोबाइलमा के लेखे, त्यो स्पष्ट भएन। विद्यालय भेषमा विद्यार्थी आउनु भन्ने उर्दी लगाइएको पनि सुनियो। भित्रभित्र के रहस्य थियो भन्ने थाहा भएन। आन्दोलन शान्तिपूर्ण हुने जेन–जीको भनाइ थियो। तर आन्दोलनमा टीओबी नाम दिइएको चर्को आवाज भएका मोटरसाइकलको भीड देखिन थाल्यो। युवाहरूलाई ढाल बनाएर घचेटिएको दृश्य देखियो। यसरी देशलाई संकटतर्फ धकेलिएको आभास भयो।

जेन–जीका अनेक नेता देखिए। जेन–जी समूहभन्दा उमेरमा अगाडि गइसकेका व्यक्तिहरू पनि त्यहाँ थिए। विभिन्न किसिमका युवा देखिए। “म जेन–जी” भन्दै तछाड–मछाड पनि देखियो।

घटना जे जसरी भयो, धेरैले भिडियो र प्रत्यक्ष दृश्यबाट देखेका छन्। कसको गल्ती थियो भन्नेबारे आ–आफ्नो बुझाइ बनेको छ। २४ गते देश तनावग्रस्त देखिन्थ्यो। सरकारको राजीनामापछि अर्को सरकार कसरी बन्ने भन्ने कौतुहल बढ्यो।

सैनिक मुख्यालयमा भएको रस्साकस्सीबीच चुनावी सरकार बनाउने सहमति भएको चर्चा चल्यो। संसद विघटन भयो। त्यसबेला राष्ट्रपति र संविधानसमेत भंग हुनुपर्ने आवाज पनि उठेको थियो। कसको के उद्देश्य थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ। संविधानअनुसार ६ महिनाभित्र चुनाव गरी नयाँ सरकार बनाउने बाटो रोजियो।

यसबीच अघिल्लो सरकारका दुई ठूला संसदीय दलका समर्थकले संसद पुनर्स्थापनाको माग गर्दै अदालतमा मुद्दा दायर गरे। त्यो मुद्दा चुनावअघि टुंगो नलाग्ने देखियो। चुनावमा त जानैपर्ने भयो। अनमने रूपमा भए पनि सबैले उम्मेदवारी दिए र प्रचारमा लागे। भ्रष्टाचारको नाममा उक्साउने र आन्दोलन चर्काउनेहरू पनि चुनावी मैदानमा उत्रिए। चिन्ने–नचिन्ने त जनता हुन्।

पहिलेका ठूला दलले भोट मागिरहेका छन्। जेलबाट छुटेका र आन्दोलन उक्साउनेहरू पनि चुनावमा छन्। हिन्दुराष्ट्रको नारा दिने, क्षेत्रीय पार्टी, सेलिब्रेटी कलाकार, पत्रकार, समाजसेवी—सबै चुनावमा उत्रिएका छन्। सिंहदरबार, जिल्ला अदालत, उच्च अदालत, सर्वोच्च अदालत, संसद भवन, सरकारी कार्यालय जलाउने आरोप लागेकाहरू पनि उम्मेदवार बनेका छन्। कोही समानुपातिक सूचीमा, कोही प्रत्यक्षतर्फ छन्।

दुई तिहाइको सरकारले देश चलाउन सकेन। देशले अप्रत्यासित चुनाव व्यहोर्नुपरेको छ। अर्बौं–खर्बौंको सम्पत्ति नष्ट भएको छ। त्यसको क्षतिपूर्ति कसरी गर्ने भन्ने चुनौती आगामी सरकारसमक्ष छ।

यो सरकारले जेन–जीका माग पूरा गर्न सकेन। मन्त्री बनेका कतिपय व्यक्ति उम्मेदवारी दिन सरकार छाडेर हिँडे। पुरानो संसद गयो, नयाँ संसद आउँछ। तर जेन–जीका माग के थिए, तिनको भविष्य के हुन्छ—यो स्पष्ट छैन।

चुनावी प्रचारमा एक–अर्कालाई गालीगलौज गरिएको, हुल्लडबाजी गरिएको दृश्य पनि देखियो। नयाँ भनिएका दलका मानिस पुरानै दलबाट आएका हुन्। उनीहरूले जनताको आकांक्षा पूरा गर्लान् कि नगर्लान्, त्यो समयले देखाउनेछ।

अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि बेवास्ता गर्न मिल्दैन। मध्यपूर्वमा बढ्दो युद्ध, आर्थिक संकट, विश्व राजनीति—यी सबैको प्रभाव नेपालमा पनि पर्न सक्छ। विचारधाराले देशको भविष्य निर्धारण गर्छ। अरूको भरमा बाँच्ने देश दीर्घकालीन रूपमा स्थिर रहन सक्दैन।

जेलबाट छुटेर जुलुस निकाल्ने, सरकारी संरचना जलाउने आरोप लागेकाहरू पनि आज चुनावी मैदानमा छन्। संघीयता, धर्मनिरपेक्षता, समावेशिता, समानुपातिक प्रणालीबारे उनीहरूको धारणा के हो—स्पष्ट हुनुपर्छ। गरिब, श्रमिक र मजदुरका मुद्दामा उनीहरूको दृष्टिकोण के छ—त्यो पनि जनताले बुझ्नुपर्छ।

यो चुनावले देशका समस्या समाधान गर्ने लक्ष्य लिनुपर्छ। विदेशको प्रभाव पहिले पनि थियो, अहिले पनि छ। तर जनताले सोचविचार गरेर, जानेर–बुझेर मत दिनुपर्छ। रिसको आवेग वा हचुवाका भरमा दिएको मतले देशलाई दुर्घटनातर्फ लैजान सक्छ।

यो चुनावले जेन–जीका माग पूरा गर्छ वा गर्दैन—भविष्यले देखाउनेछ। अप्रत्यासित रूपमा हुन लागेको यस चुनावका लागि सबैमा शुभकामना।

— देवी प्रसाद गौतम
हेटौंडा, मकवानपुर
devi.gautamhtd@gmail.com

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.