हेटौँडा । बागमती प्रदेश सरकारद्वारा निर्मित कानुन र तिनको कार्यान्वयनको अवस्थाबारे सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको कार्यालय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको संयुक्त आयोजनामा हेटौँडामा उक्त कार्यक्रम भएको हो।
मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतको सभाध्यक्षता र प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी (छिन्तु) को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा मुख्य न्यायाधिवक्ता बस्नेतले बागमती प्रदेश सरकारबाट जारी भएका ऐन, अध्यादेश, नियमावली, विनियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड र आदेशहरूको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य पुलामीले प्रदेशमा कानुन निर्माणको काम सन्तोषजनक भए पनि कार्यान्वयन पक्ष भने निकै कमजोर रहेको औँल्याउनुभयो। अन्तरक्रियामा सहभागी सरोकारवालाहरूले शिक्षा, स्वास्थ्य, रोजगार, वातावरण, सरसफाइ र कृषि लगायतका क्षेत्रमा बनेका कानुनहरूको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए।
कार्यक्रममा इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेल, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष कमलकुमार विश्वकर्मा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख श्यामबहादुर खत्री, सिविन बाल हेल्पलाइन हेटौँडाका प्रमुख झविन्द्र ज्ञवाली, जिल्ला बार एसोसिएसन मकवानपुरका अध्यक्ष अधिवक्ता उत्तमकुमार बस्नेत लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।





























