हेटौँडा । हेटौँडा–११ स्थित शंकर ज्योति माध्यमिक विद्यालयमा ‘विद्यालयका लागि बाल संरक्षण मापदण्ड, २०८२’ कार्यान्वयन र सचेतनासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। सीविन बाल हेल्पलाइन हेटौँडाको आयोजनामा भएको उक्त कार्यक्रममा विद्यालयका बालबालिकालाई हिंसा र दुर्व्यवहारबाट जोगाउने, बालअधिकारको संरक्षण गर्ने तथा विद्यालयमा सुरक्षित वातावरण निर्माण गर्ने विषयमा विशेष छलफल गरिएको थियो।

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ५७ ले दिएको अधिकार प्रयोग गरी विद्यालयहरूले आफ्नो संस्थागत तहमा बाल संरक्षण मापदण्ड निर्माण र कार्यान्वयन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ। कार्यक्रममा सीविन बाल हेल्पलाइन हेटौँडाका प्रमुख झविन्द्र ज्ञवालीले बाल संरक्षण मापदण्ड, बालबालिकासँग गर्न नहुने व्यवहार र उजुरी प्रक्रियाका बारेमा प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा हेटौँडा–११ का वडा सदस्य गोपिनी सापकोटा, विद्यालयका प्रधानाध्यापक महेश रिजाल, सहायक प्रधानाध्यापक, शिक्षक रोशन पराजुली, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, बाल सञ्जालका अध्यक्ष, शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। विद्यालयले यस मापदण्डमार्फत बालबालिकाविरुद्ध हुने हिंसा, यौन दुर्व्यवहार र अन्य दुर्व्यवहारको रोकथाम गर्न शून्य सहनशीलताको नीति अवलम्बन गर्ने र विद्यालयमा ‘बाल संरक्षण मापदण्ड कार्यान्वयन तथा गुनासो सुनुवाइ समिति’ गठन गरी काम गर्ने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा उपस्थित सरोकारवालाहरूले बालबालिकाको सर्वोत्तम हित र सुरक्षित शिक्षण सिकाइ वातावरण निर्माणका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।




























