हेटौँडा । हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले पत्रकारहरूलाई काठमाडौँको मूलधारको पत्रकारितासँग प्रतिस्पर्धा गर्न आग्रह गर्नुभएको छ। उपमहानगरपालिकाको आर्थिक सहयोगमा आयोजित ‘फिचर लेखन प्रतियोगिता’का विजयी पत्रकारहरूलाई बधाई दिँदै उहाँले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गर्नुभएको हो।
नगर प्रमुख लामाले हेटौँडा प्रदेशको राजधानी र संघीय राजधानीसँग जोडिएको हुनाले अब यहाँका पत्रकारहरूलाई ‘मोफसल’को पत्रकार भन्ने छुट नभएको बताउनुभयो। उहाँले भन्नुभयो, “हेटौँडाबाट सञ्चालित सञ्चारमाध्यमहरूलाई अब स्थानीय मात्र नभनी राष्ट्रिय स्तरसँगै प्रतिस्पर्धामा उत्रिन र हेटौँडालाई पत्रकारिताको केन्द्र बनाउन मेरो आग्रह छ।”
पत्रकारिता समाजको ‘लाइफ लाइन’ भएको उल्लेख गर्दै उहाँले सञ्चारकर्मीले आफ्नो हतियार र सम्पत्तिको रूपमा रहेको ‘विश्वास’लाई जोगाउनुपर्नेमा जोड दिनुभयो। “अहिले जानकारीको अभाव छैन, तर सत्य र तथ्यको पहुँचमा पुर्याउने काम असल सञ्चारकर्मीको हो,” उहाँले भन्नुभयो।
पछिल्लो समय पत्रकारिताको विश्वासमा कमी आएको गुनासो सुनिने गरेको भन्दै मेयर लामाले पेसालाई अमर्यादित बनाउने कार्य नगर्न सचेत गराउनुभयो। सामाजिक सञ्जालको प्रयोग गर्दा पत्रकारले आफ्नो गरिमा र पेशागत मर्यादालाई बिर्सन नहुने उहाँको भनाइ थियो। उहाँले थप्नुभयो, “फेसबुकमा आत्मराग अलाप्नु वा पूर्वाग्रह राखेर तल्लो स्तरमा आलोचना गर्नु पत्रकारिता होइन, यो समयको बर्बादी हो।”
महोत्सवमा फिचर लेखन प्रतियोगितामा सर्वोत्कृष्ट हुनुभएकी अञ्जली थापालाई ४५ हजार रुपैयाँ र उत्कृष्ट १० जना पत्रकारलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरिएको छ। नगर प्रमुख लामाले गलत कामको खुलेर आलोचना र राम्रो कामको प्रशंसा गर्दै ‘समृद्ध हेटौँडा र भव्य नेपाल’को सपना साकार पार्ने अभियानमा साथ दिन सम्पूर्ण पत्रकारहरूलाई आह्वान गर्नुभएको छ।




























