सञ्चारमाध्यमको भूमिका सशक्त हुनुपर्नेमा जोड

हेटौँडा । बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभाका कामकारबाहीलाई थप प्रभावकारी, तथ्यपरक र निष्पक्ष रूपमा आम नागरिकसमक्ष पुर्‍याउन सञ्चारमाध्यमको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिनुभएको छ। बागमती प्रदेशसभा सचिवालयले संसदीय पत्रकारहरूसँग आइतबार आयोजना गरेको अन्तरक्रिया तथा छलफल कार्यक्रममा बोल्दै उपसभामुख चापागाईंले यस्तो बताउनुभएको हो।

उपसभामुख चापागाईंले संसदीय पत्रकारहरूले प्रदेशसभाका गतिविधिहरूलाई जिम्मेवार र इमानदार ढङ्गले सम्प्रेषण गरिरहेको भन्दै प्रशंसा गर्नुभयो। उहाँले पत्रकारिता पेसा आफैँमा चुनौतीपूर्ण र जोखिमपूर्ण रहेको उल्लेख गर्दै सत्यतथ्य समाचार सम्प्रेषणमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। साथै, संसदीय पत्रकारितामा व्यावसायिक सुधार र गुणस्तर अभिवृद्धिको आवश्यकता औँल्याउँदै प्रदेशसभा र सञ्चारमाध्यमबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने उहाँको धारणा थियो।

बागमती प्रदेशलाई संघीय राजधानी रहेको र दुवै संघीय सदन अवस्थित रहेको महत्त्वपूर्ण प्रदेशका रूपमा चित्रण गर्दै उपसभामुख चापागाईंले प्रदेशसभाले हालसम्म गरेका कार्यप्रगतिको जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म बागमती प्रदेशसभाले ९० भन्दा बढी कानुन निर्माण गरिसकेको छ भने तीनवटा विधेयक विचाराधीन अवस्थामा छन्। समितिमार्फत उत्तरविधायिकी परीक्षण लगायतका कामहरू पनि निरन्तर रूपमा अघि बढिरहेको उहाँले बताउनुभयो।

कार्यक्रममा वरिष्ठ पत्रकारहरूले सञ्चार क्षेत्रको बदलिँदो स्वरूप र संसदीय पत्रकारिताका विषयमा आफ्नो प्रस्तुतीकरण राखेका थिए। वरिष्ठ पत्रकार दिलभूषण पाठकले ‘परिवर्तनशील सञ्चारमाध्यमको परिदृश्य तथा सुशासन र जवाफदेहिता कायम राख्न जिम्मेवार सञ्चारमाध्यमको भूमिका’ विषयमा प्रकाश पार्नुभएको थियो। त्यसैगरी, हरिबहादुर थापाले ‘संसदीय मामिला पत्रकारको भूमिका’ तथा ‘संसदीय समितिका गतिविधिहरूमा पत्रकारको चासो’ विषयमा प्रस्तुतीकरण र सामुहिक छलफल सञ्चालन गर्नुभएको थियो।

प्रदेशसभाका नीतिगत उपलब्धि र सकारात्मक कार्यहरूलाई जनताको पहुँचमा पुर्‍याउन सञ्चारमाध्यमले अझ बढी प्राथमिकता दिने उपसभामुख चापागाईंले विश्वास व्यक्त गर्नुभयो। उक्त अन्तरक्रियाले संसदीय मामिलामा कलम चलाउने पत्रकारहरूलाई थप स्पष्ट र परिपक्व बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.