मकवानपुर । मदनभण्डारी स्वास्थ्यबिज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई स्वतन्त्र गर्नुपर्छ भन्दै हेटौंडामा हस्ताक्षर अभियान शुरु गरिएको छ ।
हेटौंडा अस्पतालको बाहिर फागुन ११ गते आइतबारदेखि यो अभियानको थालनी भएको हो । वर्षौँदेखि सरकारी स्वामित्वमा रहेको सरकारी अस्पताल मदनभण्डारी स्वास्थ्यबिज्ञान प्रतिष्ठानमा गाभिएपछी समस्या उत्पन्न भएको हो । नेकपा एमाले पार्टीको सत्ता हुँदा हतारहतार बगमती प्रदेश सभाबाट पास गराएर हेटौंडा अस्पताललाई मदन्भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गाभेको हेटौंडा अस्पताल बचाउ अभियानका मुख्य अभियन्ता वरिष्ठ अधिवक्ता केशव गौतमले बताए ।

गौतमले यसबारे सर्बोच्च अदालतमा नेपाल सरकार र बागमती प्रदेश सरकार, मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई विपक्षी बनाएर सर्बोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । सर्बोच्चमा यसबारे एकचोटि बहस समेत भैसकेको छ, अब जेठ ७ गते फेरि बहस हुँदैछ, मुद्दा अहिले बिचाराधिन अवस्थामा भएको गौतमले जानकारी दिए ।

सर्वोच्चले नेपाल सरकार, बागमती प्रदेश सभा र प्रतिष्ठानलाई कारण देखाउ चिट्ठी पठाउँदा पनि अहिलेसम्म मौन छन्, जवाफ दिएका छैनन्, गौतमले भने । ८७ वर्ष का जेष्ठ नागरिक उमाकान्त गौतमले हस्ताक्षर गरेपछि शुरु भएको हस्ताक्षर कार्यक्रम फागुन १५ गतेसम्म रहने हस्ताक्षर कार्यक्रमका प्रचारप्रसार संयोजक बिशालराज महतले बताए । हस्ताक्षर कार्यक्रममा ऐक्यबद्धता जनाउदै बिप्लब सीका मकवानपुर नेता राम सी, नेपाली काङ्ग्रेस नेता आनन्दराम पराजुली, अभियानका अभियन्ता अधिवक्ता गौतम, हेटौंडा अस्पताल बिकास बोर्डका पुर्व अध्यक्ष प्रकाश पौडेल लगायतकाले हस्ताक्षर गरेका थिए । यश अभियानमा प्रदेश सभाका केही सदस्य, सरकार पक्ष र प्रतिपक्षी दलका अधिकाङ्स नेताहरुको पनि समर्थन रहेको बुझिएको छ ।




























