सुनेको, देखेको र बुझेको रुपचन्द्र विष्ट मेरो स्मृतिमा

स्मृतिमा उमेरको प्रभाव परेको हुनुपर्छ । मैले बिर्सिएँछु । देवी गौतमले फोन गरे । रुदानेको स्मृतिसभा रहेछ । हेटौंडा ११ सहिद स्मारक नजिक, थाहा भवनमा असार ७ गते विहान ८ वजेदेखि । जाने कोही भेटिन्छ कि भनेर म यताउता हेर्दै थिएँ । त्यसै बेला कवि पुरुषोत्तम समाचार केन्द्रअगाडी देखिए । उनी पनि त्यतै हिँडेका रहेछन् । मलाई देख्नासाथ उनी रोकिए । उनकै पछाडि बसेर म कार्यक्रम स्थलतिर भटभटिएँ । हलभित्र छिरेर म खाली कुर्सी खोज्दै थिएँ । त्यसै बेला उद्घोषकले मलाई मञ्चमा बोलाए । मैले आसन ग्रहण गर्दा स्वागत भाषण सकिएको थियो ।

जति सक्दो चाँडो कर्मकाण्डी अनुक्रम सकेर आयोजकहरु हिँडिहाल्न हत्तारिएका थिए तर श्र्वतादिर्घाबाट पनि केही हातहरु उठे । समय दिनु नै पर्ने भयो । किनकि ती सवै थाहा अभियानमा रुदानेसँग मिलाएका ऐतिहासिक हातहरु थिए । इच्छुक सवैले रहर पूरा गरेपछि मात्रै उद्घोषकले मञ्चासीन महानुभावतिर आँखा नचाए । वक्ताहरुले पालैसँग रुदानेप्रति श्रद्धाभाव अर्पण गरे र जनमुखी राजनीतिक अभियानमा वहाँसँग वितेका गौरवशाली दिनहरु पनि सम्झिए । जीवित रहँदा सम्म निन्दाका लागि कोषभित्र गालीगलौजका सवै शब्दहरु खोज्नेले पनि त्यस दिन रुदानेका तारिफमा आलङ्कारिक शब्दहरुको बाढी नै चलाए । कसै कसैले रुदानेका नाम बिक्रीमा पनि राखे भने कसैले त्यसलाई भिक्षापात्र बनाउँदै अरुका अगाडि थापे । मन्तव्यको क्रममा बक्ताहरुले केही शब्दहरुको यसरी प्रयोग गरेका थिए कि मैले आफ्नो ज्ञानको गहिराइलाई नाप्नुपर्ने भयो । रुदानेलाई थाहा दर्शनको प्रवर्तक भनेको सुन्दा श्रोताहरुमाझ केही समय खासखुस चलेको थियो । किनकि रुदानेको स्मृति सभा भएकोले त्यहाँ ठिक बेठिक छुट्याउन सक्ने थाहामुखी टाउकाहरु पनि सहभागी थिए । कार्यक्रम सकिएपछि म टाउकाभरी प्रश्नको गोलो बोकेर घरतिर लागेको थिएँ ।

तथ्यलाई नहेरीकन निष्कर्षमा पुग्ने नेपाली प्रवृती नयाँ होइन । कसैलाई तुरुन्तै राक्षस र कसैलाई तुरुन्तै देवता बनाइदिने अतिवाद नेपालमा पहिलेदेखि नै थियो । अहिले त झन् उन्नत प्रविधिले व्यवस्थित र शक्तिशाली भएको छ । मन्तव्यको क्रममा वक्ताहरुले अतिवादी नेपाली स्वभाव प्रदर्शन गरे । सबैले रुदानेलाई महान भने । कुरा सही हो । तर उनी मानिस पनि हुन् भन्ने कुरा सबैले विर्सिए । किनकि मानिस भएपछि गल्ती हुन सक्छ । कमजोरि हुन सक्छ । जीवनको पछिल्लो अवधिमा उनीबाट केही कमजोरी भए । निकट मानिसहरु भन्छन् उनी निराश भएका थिए । जसले उनको बाँच्ने समय घटाइदियो । जुन समय बेठिकको विरुद्ध प्रयोग हुन सक्थ्यो । उनको गल्ती भन्न सवै वक्ताहरु डराए । बरु समाज रुपान्तरणका लागि र जनअधिकारका लागि जेलमा सडेका, मरेका र ज्यान हत्केलामा लिएर हिँडेको सचेत योद्धाहरुको विरोध भयो । रुदानेको पार्थिव शरीरमा सोनाम साथीले अग्निदान गरेका थिए । यो रुदानेको इच्छा थियो । किनकी सोनाम साथी आचरण इमान, त्यागमा एक जना असल कम्यूनिष्ट नेता थिए । श्रमिक नेपाली जनताको उन्मुक्तिबाहेक उनको अरु कुनै स्वार्थ थिएन । यस्तै बाम लोकतान्त्रिक आन्दोलनभित्र सम्झनु पर्ने कलङ्करहित नामहरु अरु पनि थुप्रै भेटिन्छन् तर सवै नेता उस्तै हुन भन्ने भाष्य खडा गरेर केहीले उनलाई पनि खसी बाख्री एकै धोक्री बनाए । रुदानेको व्यक्तित्वलाई माथि उठाउन कसैलाई खसाउनुपर्दैन भन्ने कुरा त्यहाँ बिर्सिने काम पनि भयो ।

रुदानेको मुखबाट थाहाको परिभाषा नसुनेका कानहरु हलभित्र धेरै कम थिए । जो थिए तिनले पनि भित्तामा पढे । वक्ताहरु सवैले भनेका थिए । थाहा भनेको सत्यको परिचय र भ्रमको विपरीतार्थक शब्द हो । तर दर्शनबारे धेरैको वुझाई हँचुवामा आधारित थियो । दर्शन भनेको एउटा प्राविधिक शब्द हो । जसलाई जीवन तथा जगतबारे बुझ्ने ब्याख्या गर्ने बौद्धिक विषयको रुपमा परिभाषित गरिन्छ । मार्क्सका अनुसार जीवन जगतलाई बुझ्ने मात्रै होइन त्यसलाई बदल्ने दृष्टिकोणलाई पनि दर्शन भनिन्छ । दुवै शब्दको परिभाषा हेर्दा ज्ञान हुन्छ कि दर्शन भनेको सत्यतिर लम्किने साधन हो थाहा भनेको सत्य हो । जो जे जस्तो छ त्यसलाई त्यही रुपमा देख्नु बुझ्नुलाई थाहा भनिन्छ । यो साधन होइन साध्य हो । दर्शन भनेको हेराइ हो भने थाहा भनेको देखाइ हो । हेर्ने जति सबैले देख्दैनन् । किनकि थाहा भनेको सत्यानुभुति र सत्यानुपालन पनि हो । जसको जन्म निष्पक्ष सक्रियताको अभ्यासबाट हुन्छ । त्यस्तै नयाँ वस्तु ज्ञान, दर्शन निर्माण आविष्कार गर्ने व्यक्तिलाई प्रवर्तक भनिन्छ । उपर्युक्त परिभाषा अनुसार थाहा दर्शन हो कि होइन थप अध्ययन चाहिन्छ । रुदाने प्रवर्तक हुनकि दर्शनशास्त्रका अध्येता हुन् त्यसले पनि जवाफ पाउनु पर्छ । जीवनकालमा रुदानेले थाहा अभियान चलाएका थिए । जसको उद्देश्य जनअधिकारका लागि चेतनाको विगुल फुक्नु थियो । त्यसैले उनी जनमुखी राजनीतिका अभियन्ता हुन् भन्ने मतलाई कमजोर मान्न सकिन्न । थाहा दर्शनका प्रवर्तकभन्दा उनको अधिकमुल्यांकन हुँदैन ? अधिक मुल्यांकन पनि त चाकडीको एउटा शैली हो नि ।

लामो अध्ययन, अनुसन्धान र अनुभव पछि गौतम वशका सिर्द्धाथले भनेका थिए, संसार दुःखले भरिएको छ । दुःखका कारण छन् कारण हटाउन सकिन्छ । दुःख हटाउने उपाय थाहा पाएपछि सिर्द्धाथ बुद्ध भएका थिए । किनकि बुद्ध भन्ने शब्द संस्कृतका “विद्” धातुबाट बनेको हो । जसको अर्थ हुन्छ बुझनु, जान्नु अर्थात थाहा पाउनु । तर बुद्धको बुझाइभित्र गराई पनि पर्छ । संसारमा बुझ्ने मानिस धेरै छन् । तर बुझेअनुसार काम गर्ने मानिस मुस्किलले भेटिन्छन् । सिदार्थ बुद्ध भए किनकि उनले बुझे अनुसार काम गरे । गीतामा कृष्णले ज्ञानलाई नै सुख तथा मुक्तिको मार्ग भनेका छन् । निष्काम कर्मयोग भनेकै निष्पक्ष सक्रियताको अभ्यास हो । सत्यम् शिवम् सुन्दरम् बैदिक सनातन धर्मको शैक्षिक उद्देश्य हो। सत्य नै शिव अर्थात कल्याणकारी हुन्छ । जो कल्याणकारी हुन्छ त्यो सुन्दर हुन्छ । सुन्दरता रुपमा होइन गुणमा खोज्नु पर्छ । कुनै बेला दुःख पाउँदा मनिस भाग्यलाई दोष दिन्थे । सुखका लागि अर्को जुनी पर्खिन्थे । तर मार्क्सले थाहा पाए अर्को जन्म हुँदैन । दुःख दिनेलाई सबै खाले संङ्घर्ष मार्फत सबै क्षेत्रमा पराजित गर्नुपर्छ । यही जन्ममा सुख सम्भव छ । रुदानेले भनेको कुरा त्यही हो दुःखको कारण थाहा पाउनुपर्छ । सुख नजिक आउँछ । थाहा आन्दोलनमार्फत रुदानेले मार्क्सवादलाई जनमुखी राजनीतिका आवरणमा नेपाली समाजभित्र पुर्याएका थिए । ज्ञानको पसल थापेर अहिले पनि रजनिस, सदगुरु जस्ता भारतका लामादारीहरुले भक्तहरुको भिड् लगाएका छन् । ती सबैले आफूलाई अध्येता भनेका छन्, प्रवर्तक होइनन् ।

रुदानेका चमत्कारी व्यक्तित्वको रोचक कँहानी मैले कौशल दाई, भक्तवहादुर श्रेष्ठ, राधेश्याम खतिवडा र केही अरुबाट पनि सुनेको थिएँ । तर उनलाई मैले स-शरीर देख्न पाएको थिइनँ । जिल्लाको तात्कालीन सदरमुकाम भिमफेदीमा मैले पहिलो पटक रुदानेलाई देखेको थिएँ । बसबाट उत्रेर म एउटा काम लिएर कार्यालयतिर लम्किदै थिएँ । अगाडि मानिसहरुको एउटा हुल देखेँ । एउटा जर्खरो हृष्टपुष्ट मानिस बोलिरहेको थियो । वरिपरिका मानिसहरु उसका कुरालाई रुचिपुर्वक सुनिरहेका थिए । कुरा सुन्नको लागि म पनि हुल नजिक पुगेको थिएँ । एक जनाले मतिर फर्किदै सानो स्वरमा भने “रुपचन्द्र विष्ट” ।

कुरा पनि सुनौ र लामो दारीले आधिपत्य जमाएको उनको अनुहार पनि हेरौँ भन्ने मलाई लाग्यो । त्यसैले रुदानेको अगाडि गएर म हुलका अरुसँगै उभिएँ । त्यसैबेला मेरा आँखा पेपरबोर्डमाथि पर्यो । रुदानेको छातीमा झुन्डिएको त्यो पेपरबोर्डमा लेखिएको महत्वपुर्ण वाक्य मैले पढेँ । “जो जति ठुलो पद र शक्तिमा छ देश सप्रिय पनि र बिग्रिए पनि त्यो त्यतिनै वढी जिम्मेवार हुन्छ ।” सक्रिय भएकाले राजा नै त्यसबेला सबैभन्दा ठुलो पद र जिम्मेवारीमा थिए । पढेपछि मलाई लाग्यो सबैले आ-आफ्नो भागको जिम्मेवारी लिने हो भने देश बिग्रिन पाउँदैन । जनताले सुखका दिन चाँडै भोग्न पाउने छन्। जनताको काम लिएर शासक-प्रशासकलाई भेट गर्न जाँदा रुदानेले त्यो बेहोरा लेखिएको बोर्ड छातीमा झुन्ड्याउँथे । जसले शासक प्रशासकलाई जिम्वेवारीवाट भाग्न मुस्किल पार्थ्यो ।

कथित सुधारिएको पञ्चायती चुनाबको बेला रुदानेसँग मेरो भेटघाट बाक्लिएको थियो । रुपचन्द्र विष्टले आफ्नो भूमिकाअनुसार नामको चयन गर्थे । उनी कहिले आफूलाई रुदाने (रुपचन्द्र दामन नेपाल), कहिले जसरु (जनमुखी सहकर्मी रुपचन्द्र बिष्ट), कहिले रापसरु (राष्ट्रिय पञ्चायत सदस्य रुपचन्द्र बिष्ट) भन्थे । त्यसबेला उनी जसरुको भूमिकामा थिए । विद्यार्थी आन्दोलनको रापतापमा भएको जनमतसङ्ग्रह पछि राजाले पञ्चायतलाई सुधार्न खोजेका थिए । तर त्यस बेलाका भूमिगत गिरोहले दिएका थिएनन् । त्यसैले राजाबाट निर्वाचन प्रणालीमा मात्रै सामान्य परिवर्तन भयो । त्यही परिवर्तनलाई प्रतिवन्धित दलले निरङ्कुश पञ्चायती व्यवस्था ढाल्न उपयोग गरे । ठाउँ ठाउँमा इत्तर पक्षीय उम्मेदवारी दर्ता भयो । कसैले आफूलाई जनपक्षीय उम्मेदवार घोषित गरे भने रुदानेले जनमुखी उम्मेदवारको रुपमा आफूलाई अघि सारे । त्यसै बेला थाहा अभियान लिएर रुदाने कलिला, श्रमिक, नारी र बौद्धिक स्वतन्त्रताका अभ्यासीहरुको बिचमा गए । थाहा अभियानले बालेको चेतनाको दियोले जसरुलाई रापसरु बनाइदियो । त्यही अभियानका क्रममा रुदानेसँग मेरो भेट बाक्लिएको थियो । कहिलेकाहीँ राति हामी कृष्णदाईको कोठामा सुत्नलाई सलाइको काँटी जस्तै तेर्सिन्थ्यौँ । किनकि गर्मी याममा त्यहाँ अलि बढी हावा लाग्थ्यो । विहान भएपछि रुदानेले हामीलाई सिरानीले हिर्काएर उठाउँदै भन्थे “भातेहरु रातभरी क्रान्तिकारी कुरा गर्छस् । अनि बिहानभरी सुत्छस् ।”

बेलुका भेट भएपछि हामी रुदानेसँग विभिन्न विषयमा उठेका जिज्ञासाहरु राख्ने गर्थ्यौं । तर्कसम्मत जवाफ दिएर उनले हाम्रो जिज्ञासा शान्त गर्थे । एकदिन उनीसँग प्रश्न उत्तर चलिरहेको थियो । उनको ध्यान प्रश्नमा भन्दा झ्यालको खापातिर गएछ । त्यहाँ केही बुक तास देखेर रुदाने हामीसँग रिसले चुर भए । बुकबाट झिकेर तासका सवै पत्ती च्यातेपछि उनले टुक्राहरुलाई भुसे चुलामा हाल्न लगाए । “तास खेल्ने बेमानी र तास हेर्ने आ…खाने” उनले तेति बेला भनेको मेरो मनमा अझै ताजा छ ।

रापसरुले एउटा चर्चित सिफारिस त्यसै बेला लेखेका थिए । उनका भतिजा जागिरेको लागि सिफारीस माग्न आएका थिए । चुरोटको बट्टाभित्रबाट एउटा झिलझिले कागज झिकेर रुदानेले भतिजाको ढाडलाई नै टेबुल बनाएर एउटा सिफारिस लेखे । त्यसलाई पढ्दै उनले भने “जागिर खोज्नेमध्ये यो भन्दा योग्य अर्को कुनै नेपाली नागरिक छ भने उसैलाई नत्र यो पत्रबाहकलाई जागिर दिनू ।” त्यो सिफारिस पत्र दिएर रुदानले भतिजलाई पठाए । रापसरुको सिफारिस पत्र पढेपछि रोजगार दाताहरुलाई चित्त बुझेछ र मरीमरी हाँसेछन् । भतिजाले सुनाएका थिए ।

एकदिन हामी कृष्ण दाईकहाँ थियौ । एउटा साथीको विहेको कुरा चल्दै थियो । उसले केटी हेरिसकेको थियो । केटीको अनुहार जिउ, डाल सवै उसलाई मनपरेको थियो । तर चरित्र पनि बुझ्नुपर्छ भनेर उसले गम खाँदै थियो । यसै विषयमा चर्चा परिचर्चा हुँदै थियो । कसैले चरित्र बुझ्नुपर्छ भन्दै थिए । कसैले पर्दैन भन्दै थिए । त्यसै बेला रुदाने आइपुगेका थिए । उनले सोधे “बिहे गर्ने को ? ” मैले देखाइदिएँ । “अब तँ एउटा काम गर् ।” रुदानेले साथीलाई भने “केटीको घर छेउमा एउटा कोठा लिनु । केटीले घाँस, दाउरा, गोठ गोठालो जे-जे गर्छे तैले पनि सँगसँगै गर्नु । उसँग बोल्नु, चल्नु, जिस्किनु अनि तलाई चरित्र थाहा हुन्छ । अरुलाई सोधिसभने कसैले राम्रो भन्छन् कसैले नराम्रो पनि भन्छन्। अनि तँ के गर्छस् ? उसलाई तेरो चरित्र बुझ्नु नपर्ने तँलाई चाहिँ उसको बुझ्नु पर्ने, भाते ।”

“बिहे गरेको महिना दिन पनि नपुगि बच्चाको बाउ हुनुपर्यो भने के गर्ने दाइ ?” साथीभित्रको पुरुषअहम् बोल्यो ।
“जन्मिने बच्चाको दोष हो र ?” जसरुले भनेका थिए । “आफ्नै सन्तान ठाने भैगोनि ! अरुको बालबालिकालाई गोद लिएर पनि मानिसले सन्तानको इच्छा पूरा गरेका छन् । एक अर्कासँग भागी बिहे गरे पनि त परपुरुष र परमहिलाले सफल दाम्पत्य जीवन चलाएका छन् ।”
रुदानेको कुरा साथीलाई चित्त बुझेछ । केही दिनपछि उसले हामीलाई जन्ती जान बोलायो ।
गालीका धेरै शब्दहरु छन् । तर हामीलाई गाली गर्नको लागि रुदानेले “भाते” प्रयोग गर्थे । कारण थाहा थिएन । उनले प्रयोग गर्ने हरेक शब्दको कारण हुन्थ्यो । एक दिन हामीले सोध्यौँ। कारण सोध्दा हामीलाई रुदानेले भनेका थिए “हेर्” । एक थाल भात र एक अँगालो भाले-पोथी पाएपछि सत्य, इन्साफ, विकास, अधिकार केही नखोज्ने मानिसहरु भाते हुन् । जीविका गर्ने र बगालिने मात्रै कामलाई प्राणी काम भनिन्छ । जुनसुकै प्राणीले गर्छ । तर मानिस हुनलाई त्योवाहेक अरु पनि धेरै काम गर्नुपर्छ ।”

पसलमा चिया खान बस्दा रुदानेका वरिपरि धेरै मानिसहरु झुम्मिन्थे । विदाका दिन हामी पनि बिहानभरि कुरा सुनेर बस्थ्यौं। किनकि उनका कुरा वुझ्न समय लाग्थ्यो तर बुझेपछि कुरा घतलाग्दो, तर्कपुर्ण र रमाइलो हुन्थ्यो । उनलाई देखेपछि कतिपय मानिसहरु सन्चो बिसन्चो के छ भनेर सोध्थे ।
“बराबरी” उनका जवाफ हुन्थ्यो । तर सञ्चै भन्नेलाई उनले भन्थे “तँ आफै हेर्न तेरै अगाडि छु । नत्र ओछ्यानमा हुन्थेँ । “विषय वस्तुलाई राम्रोसँग जाँच परख नगरिकन अन्दाजको भरमा भुक्ने (उनको भाषामा बोल्ने) मानिसलाई उनी आजाठामु भन्थे । जसको अर्थ हुन्थ्यो “आफूलाई जान्ने ठान्ने मुर्ख” “राम्रोसँग अध्ययन अनुसन्धान नगरीकन बोल्ने कसैलाई हक हुँदैन।” माओले कम्यूनिष्ट कार्यकर्तालाई दिएको सल्लाह जसरुले स्मरण गराउँथे ।
अरुले साहुजीसँग खानका लागि चिया माग्थे तर रुदाने साहुजीलाई चिया बेच् भन्थे । किनकि साहुजीले दिने होइन बेच्ने हो। कोही कोही मानिसहरु उनलाई कहिले आउनु भो भनेर सोध्थे । रुदाने यतिवर्ष भनेर आफ्नो उमेर बताउँथे । कहाँबाट आउनु भो भन्दा तैले देखिनस् म ढोकाबाट छिरेको उनी भन्थे ।
कहाँ बस्नुहुन्छ, कहाँ जानुहुन्छ, कहाँ सुत्नुहुन्छ ?” सोध्नेहरु पनि हुन्थे । त्यस्तालाई रुदानेले नेगुविको सदस्य भन्थे । किनकि उनका पछाडि गुप्तचरहरु पनि लागिरहेका हुन्थे ।

जन्मोत्सवमा पञ्चायती रापसहरु राजालाई विष्णु भगवान् भन्नको लागि सरकारी सभामा जान्थे । तर प्रशासकको निम्तोलाई अस्वीकार गर्दै रुदाने जिउँदो मानिसको जन्मोत्सवमा जान्न भन्थे । उनको तर्क थियो आजको रत्नाकर डाँकु भोलिको बाल्मीकि पनि हुनसक्छ । आजको भगवान भक्त भोलिको भस्मासुर पनि हुनसक्छ । जिउँदो मानिस जीवनको अदालतमा चलिरहेको एउटा मुद्धा हो । जसको फैसला मृत्यूपछि मात्रै हुन्छ । त्यसपछि मात्रै उसको काम हेरेर जन्मोत्सव मनाउने-नमनाउने थाहा हुन्छ । एक त उनी राजालाई मानिस भन्थे । अर्को जिउँदो मानिसको जन्मोत्सवलाई चाकडी भन्थे । चाकडीका उनी सख्त विरोधी थिए । उनी भन्थे. यो देश सप्रिए यही देशमा । यो देश बिग्रिए विदेशमा जान खुट्टा उचालिरहेकाहरुले मात्रै चाकडी गर्छन् ।
पञ्चायती सरकारका दिवस तथा जयन्ती समारोहमा जिल्लाका हाकिम र कर्मचारीको हाजिरी कार्यक्रम स्थलमा नै हुन्थ्यो । शिक्षकहरुले त झन विद्यार्थीलाई दोहोरो पङ्त्तिमा हिँडाएर घाँटी बजाउदै त्यहाँ पुग्नुपर्थ्यो । रापसरुले बोल्ने दिन सर्वसाधरण जनताको पनि ठूलो उपस्थीति हुन्थ्यो । आफुभन्दा कनिष्ट व्यक्तिलाई वरियतामा माथि राखेपछि रापसरु आफ्ना कुरा सकेर अव फटाहा कुरा सुन्दिन भन्दै मञ्चबाट हिँडिदिन्थे । त्यसपछि श्रोताहरु मात्रै होइन हाजिर कपी बुझाइ दिसकेका शिक्षक, कर्मचारीहरु पनि बाटो लाग्थे । मञ्च श्मशनघाट जस्तो भएपछि अर्का पञ्चायती रापस श्रोताहरुलाई गालिगर्दै भन्थे “जनमुखी खेतालाहरु” ।

दामनमा एभरेस्ट भ्यु टावर चलाउँदा रुदानेको एउटा पर्यटकसँग घटेको एउटा रमाइलो घटना देख्ने एक जना साथीले मलाई सुनाएका थिए । एक दिन एउटा पर्यटकले टावर नजिकको बगैचाँबाट बिना अनुमति एउटा फूल टिपेको देखेर रुदानेलाई खुब रिस उठेछ । नजिकै गएर रुदानेले हप्काउँदै पर्यटकलाई सोधेछन् “फूल किन टिपिस् ?”
“नटिप्नु भन्ने सूचना कतै देखिनँ त्यसैले…”उसको जवाफ आयो।
रुदानेले उसको नाक समाउँदै भनेछन् “उखेलिदिउँ ।”
“किन -” पर्यटकले सोधेछ ।
“तेरो निधारमा सूचना लेखेको छैन त्यसैले……….” रुदानेले जवाफ दिएछन् ।
जवाफ सुनेपछि त्यो पर्यटक नखोज्दा नखोज्दै पनि हाँस्न बाध्य भएछ ।
थाहासँग प्रेम गरेपछि सत्य हामी कहाँ आउँछ । रुदानेले भनेको म सम्झिन्छु । थाहासँग प्रेम हुनलाई निष्पक्षता चाहिन्छ । निष्पक्षता भनेको हामी कसैका होईनौँ । कोही हाम्रा होइनन् । हामी सत्य र ठिकको सत्य र ठिक हाम्रो भन्ने भाव, सोच र अभ्यास पनि हो । आफूभित्रको मलाई मारेपछि मात्रै सत्यको परिचय हुन्छ र भ्रमबाट मुक्ति मिल्छ । समाज परिवर्तनको लागि निष्पक्ष हुनुपर्छ, सक्रिय हुनुपर्छ । अभ्यस्त हुनुपर्छ । श्रमिक वर्गको पक्षधर हुँ भन्दै कतिपय मानिसहरु गुट, दल वा नेताको पक्ष लिन्छन् । राजकिय तथा सार्वजनिक सुविधालाई पार्टीकरण गर्छन् । व्यक्तीकरण गर्छन ।छिमेकीकरण गर्छन्। यसले श्रमजीवी वर्गको हित गर्दैन रुदाने प्रष्ट थिए ।
“यो घरमा सबैभन्दा पहिला को उठ्छ ?”
“आम”
“सबैभन्दा ढिलो को सुत्छ ?”
“आमा” ।
“बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्म एकपछि अर्को काम कस्ले गर्छ नि ?”
“आमाले” । बुबा त तास खेल्न जानुहुन्छ ।
“अनि सम्पत्तिको मालिक को छ नी ?” सानोले भन्थ्यो थाहा छैन । ठुलोले भन्थ्यो “बुबा”।
“काम गर्ने एउटा सम्पत्तीको मालिक अर्कै राम्रो हुन्छ त ?” रुदानेले सोधेपछि दुबैले एक स्वरमा भन्थे “हुन्न”।
रुदानेसँग गाउँघर पसेको जनमुखी सहकर्मीले यो वार्तालाप सुनेको हुनुपर्छ । मैले पनि सुनेको थिएँ । तर त्यसबेला मलाई यसको उद्देश्य ज्ञान थिएन । पछि थाहाभयो कलिलाहरुको मस्तिष्कले सत्यलाई तुरुन्तै ग्रहण गर्न सक्छ । त्यसैले कलिलाहरुबाट नै विद्रोहकारी परिवर्तन हुन सक्छ भन्ने जसरुका मान्यता थियो । आफूमाथि अन्याय हुँदा पनि चुँसम्म नगर्ने महिलाहरु सामाजिक परिवर्तनका बाधक हुन्, रुदानेको भनाई थियो ।

कामजति आफूलाई र कमाईजति शोषक सामन्तलाई हुँदा पनि भाग्यलाई दोष दिएर अर्को जुनी पर्खिने मजदुर किसान पनि देशको अधोगतिको कारण हुन् । जसले गर्दा अन्यायपुर्ण व्यवस्था चलेको छ, जसलाई शोषक र साशकहरुले लोकतन्त्र भनेका छन् । यही व्यवस्थालाई मजदुर किसानका छोराछोरीले सेना पुलिस भएर पढे लेखेकाले हाकिम साकिम भएर टिकाएका छन् । स्वार्थ बोकेका मानिसबाट हित खोज्ने जनताको दरिद्र चेतनाले देशलाई पछाडि पारेको छ । जस्तो मतदाता उस्तै प्रतिनिधी, जस्तो प्रतिनिधी उस्तै सरकार, जस्तो सरकार उस्तै साशन हुन्छ।जातबाट जनहित, शोषकबाट विकास, विदेशीवाट राष्ट्रियता र गुण्डाबाट राजनीति हुन्छ भन्ने मूर्ख लोभी पापी मतदाताका कारण व्यवस्था चलेको छ । जुन दिन जनताले थाहा पाउँछन् त्यस दिन चितुवालाई बाख्रा गोठबाट लखेट्छन् । त्यही दिनदेखि देशले विकास र न्यायको गति समात्छ । हातमा ठेला उठेका छाप्रे, डोके, नाम्लेहरु नउठेसम्म देशमा कामजति ठेलाठेल र कमाइ जाति तानातान हुन्छ । बेठिक व्यवस्था चलिरहन्छ । जनताका जनप्रतिनिधिमाथि, जनप्रतिनिधिको सरकारमाथि, सरकारको पुलिस र सेनामाथि, पुलिस र सेनाको अपराधीमाथि स्वतन्त्र ढङ्गले शासन-प्रशासन चल्ने जनमुखी व्यवस्था नआएसम्म समाजमा न्याय हुँदैन । बिद्रोहकारी कलिला, सामाजिक परिवर्तनकारी महिला, बौद्धिक स्वतन्त्रताका अभ्यासी र कान्तिकारी परिवर्तनकारी डोके नाम्ले छाप्रेहरुले कहिले थाहा पाउने ? उनको प्रश्न थियो । जनविरोधी व्यवस्थाको जञ्जाल भत्काउनको लागि थाहा चाहिन्छ रुदानेको भनाई थियो ।

अरु पैसा खर्च गरेर चुनाव लड्थे । तर जसरु मतदातालाई जनमुखी शिक्षा दिन्थे। यसका लागि उनले चेतनामूलक पर्चा तयार गरेका थिए । मतदाताहरु किनेर पर्चा पढ्थे । पर्चा लगेर पनि पैसा नतिर्ने एक जना हेटौँडे नेताको ओछ्यानबाट तन्ना उठाएर जसरुले बजारको बिचमा लिलामीमा राखिदिएका थिए । जसरुलाई मकवानपुरका जनताले दुर्इ पटक रापसमा चुनेका थिए । दुबै कार्यकालमा रापसरुले जनताको मतमाथि पुर्णरुपले न्याय गरे । मतदातालाई झुट, लोभ, आस र त्रास देखाएर रापस भएका जनविरोधीहरु विकाशका लागि राजनीति गर्नुपर्छ भन्थे । किनकि विकासको नाममा बजेट मार्ने उनीहरुलाई अवसर मिल्थ्यो। तर जसरु जनअधिकारको लागि राजनीति भन्थे । किनकि जति-जति अधिकार त्यति-त्यति विकास हुन्छ भन्ने सुत्र थियो । बल प्रयोगबाट चलेको व्यवस्थाले विकासको ढोका खोल्न सक्दैन । विचारले चल्नुपर्छ । मुख थुनेर गर्ने शासनबाट विकास सम्भव हुन्न । त्यसैले आस्थाका बन्दीहरुले खुला आकाशमुनि मुख खोल्न पाउनुपर्छ भन्दै सदनमा रुदानेको आवाज घन्किन्थ्यो । यसले सत्ताधारीहरुको निन्द्रा बिथोलिदिएको थिए ।

त्यसबेला प्रतिनिधिसभा राष्ट्रिय पञ्चायतमा राजाले अठ्ठाइस जना रापसहरु भर्ती गर्थे । जसलाई रापसरुले मण्डले, मण्डले भन्थे । अधिवेशनमै रापसरुले पहिलो पटक मण्डलेको परिभाषा दिएका थिए “झुठ नबोल्ने मण्डले होइन, अपराध नगर्ने मण्डले होइन, मण्डले अपराधमा सरकारले कार्बाही गर्नै सक्दैन । गरिहाल्यो भने त्यो मण्डले होइन ।”

रापसरुको परिभाषा सुनेपछि त्यसबेला भूमिगत गिरोहबाट सञ्चालित रापसहरु उत्तेजित भए । नियमापत्तीको ओइरो लाग्यो । दीपक बोहराले रापसरुलाई कार्बाहीको माग गरे । सरकारको कानुनभन्दा माथि राजा छन् भन्ने सबैलाई थाहा छ । रापसरुले राजालाई मण्डले भनेको प्रष्ट हुन्छ उनको आरोप थियो ।
रापसरुले वोहराको नियमापत्तीको जबाफ फर्काउँदै भनेका थिए मैले मण्डले यस्ता हुन्छन् भनेको थिएँ । बोहराले त्यसमा राजाका नाम जोड्यो । त्यसैले कार्बाही त्यसैलाई गर्नुपर्छ मलाई हैन ।

रापसरुको “अठ्ठाइस मण्डले भर्ती गरिने” भन्ने वाक्यांसलाई पनि मुद्दाको विषय बनाइएको थियो । तर रापसरुले जिते । किनकि राजाको नाम नलिइकन उनले प्रक्रियाको विरोध गरेका थिए । एक पटक उनले बहुलाएको व्यवस्थाको चरित्र उजागर गरेका थिए । यस्तो व्यवस्था जहाँ जनता भन्दा जनप्रतिनिधि ठुलो हुन्छ । जनप्रतिनिधि भन्दा सरकार ठुलो हुन्छ । सरकार भन्दा अपराधी ठुलो हुन्छ । पुलिस-प्रशासन भन्दा सेना ठुलो र सेना भन्दा अपराधी ठुलो हुन्छ त्यसलाई रुदानेले बहुलाएको व्यवस्था भनेका थिए । रापसरुको भनाइले फेरी पनि नियमापत्ती निम्त्यायो । यस पटक त झन पञ्चायती व्यवस्थालाई नै बहुलाएको व्यवस्था र राजालाई अपराधी भनेको रुदानेलाई आरोप लाग्यो । यस पटक पनि रापसरुले राजा र व्यवस्थाको नाम लिएका थिएनन् । नियमापत्ती राख्नेले कडा जवाफ पाए ।

त्यस बेला पनि सांसद विकास कोषको पैसा कतिपयले कार्यकर्ताको जाँडपानीमा सक्थे । तर सानै भए पनि सांसद विकास कोषबाट रुदानेले जिल्लाको सबै बिपन्न स्कूलको छानालाई जस्ता पाताले टल्काईदिएका थिए । अरु सांसदले त्यसबेला कर छुटको गाडी बेचेर पैसा मुठ्याए । तर रुदानेले गाडि नै किनेर जनमुखी राजनीतिमा प्रयोग गरे । भदौ २४ को अपहरित जेन्जी आन्दोलनका उपद्रवीहरुबाट नजलेको भए त्यो गाडी अहिले पनि कुदिरहन्थ्यो ।

रुदाने जनकल्याण हाइस्कुल पालुङका प्र.अ.पनि भए । त्यसै बेला उनले श्रम, जनता र राष्ट्रको सम्मानमा विद्यार्थीले गाउनुपर्ने राष्ट्रगान बनाएका थिए । पाठ्यक्रमलाई पनि परिमार्जन् गरेर, प्रगतिशील बनाइएको थियो । जसमा विद्यार्थीले उमेर अनुसारको श्रम गर्नुपर्दथ्यो । सामाजिक काममा भाग लिनुपर्दथ्यो। प्र.अ.शिक्षकहरुलाई पनि श्रम, बाद्यकारी बनाइएको थियो । त्यो बेलाका विद्यार्थीहरुले स्मरण सुनाउँछन् । उनले गाउँका सवै बाउआमालाई आफ्ना छोराछोरी विद्यालयमा पढ्न पठाउन अनिवार्य गरेका थिए । तर केटाकेटीलाई स्कुल नपठाउने अभिभावकहरु पनि फेला पर्थे । कसै-कसैले त हाम्रा केटाकेटी पढाउँ कि नपढाउँ अरुलाई के मतलव ? पनि भन्थे । त्यस्ता अभिभावकलाई घरमै गएर रुदानेले भन्थे “तेरा केटाकेटी पढेनन् भने मुर्ख हुन्छन् । के ठिक के गलत थाहा पाउँदैनन् । चोरी डकैती अन्धविश्वास बढ्छ । समाज असुरक्षित हुन्छ । मलाई पनि हानि गर्छ तँलाई पनि हानि गर्छ । त्यसैले छोराछोरी नपढाउँने वाउँआमा समाजका शत्रु हुन्। तँ पनि समाजको शत्रु हुने ?” रुदानेले स-साना बालबालिकावाहेक अरु सवैलाई तँ भन्थे । अभ्यस्त मानिसहरु यसलाई स्वाभाविक मान्थे । रुदानेको कुरा बुझेपछि अभिभावकहरु आफ्ना केटाकेटीलाई स्कुल पठाउँथे ।

रुदाने गाउँका प्रधानापञ्च पनि भए । त्यसबेला उनले आलुको निर्यातमा विकास कर लगाए । त्यही करबाट उठेको रकमले एउटा ऐतिहाँसिक विकास घर ठडियो । विद्यालय पनि चल्यो । सरकारबाट विद्यालयलाई उपलब्ध अनुदान त्यस बेला नगन्य थियो । पञ्चायत भवन बनाउनुपर्ने ठाउँमा विकास घर वनाएपछि रुदानेसँग शासकहरु चिढिए । शासकहरुका आँखामा पर्न थालेपछि रुदाने नारायणी नदीमा हामफाले । मर्यो भन्ने हल्ला पनि चल्यो तर दुर्इ वर्षपछि उनी जोगी भेषमा देखा परे । भारतका धेरै मठ मन्दिरमा गएर उनले त्यसबेला थरी-थरीको जोगी बाबाजीसँग सङ्गत गर्न भ्याएछन् । जीवीकाको लागि रुदानेले कहिले एभरेस्ट भ्यु टावर चलाए कहिले खसी बाख्रा चराए । कहिले हिमाली पर्यटन गाइड बने तर उनी कसैको बोझ बनेन् । जीवनको अन्तिम कालमा पनि उनी हिँडेरै सरकारी अस्पतालमा गए । साधारण नेपाली जनताले जस्तो उपचार पाउँछन् त्यसैमा उनी सन्तुष्ट भए । त्यसैले त रुदाने मरे पनि मकवानपुरे जनताको हृदयमा जीवित छन् ।
मितिः २०८३/०३/०७

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.