हेटौँडा । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा विपद् व्यवस्थापनको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले हेटौँडामा संयुक्त कृत्रिम अभ्यास (Mock Drill) कार्यक्रम सम्पन्न भएको छ। हेटौँडा–८ स्थित औद्योगिक क्षेत्रको हेटेक्स चौरमा सञ्चालित सो अभ्यासमा भूकम्प र आगलागीबाट उत्पन्न हुन सक्ने सङ्कटपूर्ण अवस्थालाई आधार मानिएको थियो।
कार्यक्रममा भूकम्पले भवन भत्किँदा मानिस पुरिएको, घाइते भएको तथा औद्योगिक क्षेत्रमा आगलागी भएको नमुना दृश्य (Scenario) प्रस्तुत गरिएको थियो। यस कठिन परिस्थितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट, हेटौँडा उपमहानगरपालिका र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको हेटौँडा अस्पताललगायतका निकायहरूले समन्वयात्मक रूपमा खोज, उद्धार, प्राथमिक उपचार, घाइतेको स्थानान्तरण र आगलागी नियन्त्रणको कार्य प्रदर्शन गरेका थिए।

कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शिवराज अधिकारीले विपद् व्यवस्थापन कुनै एक निकायको मात्र नभई तीनै तहका सरकार र सुरक्षा निकायबीचको सहकार्यको विषय भएको बताउनुभयो। उहाँले जनधनको क्षति न्यूनीकरण गर्न स्रोत–साधनको व्यवस्थापन र पूर्वतयारी नै मुख्य आधार भएको उल्लेख गर्नुभयो।
त्यसैगरी, सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादेले विपद्को समयमा सरकारको उपस्थिति नागरिकले महसुस गर्ने गरी उद्धार, राहत र पुनर्स्थापनाको कार्य हुनुपर्नेमा जोड दिनुभयो। उहाँले यस्ता अभ्यासले सरकारी संयन्त्रको कार्यक्षमता र समन्वयलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

विपद्का घटनामा सुरक्षा निकाय र स्वयंसेवी सङ्गठनबीचको समन्वयलाई थप चुस्त र प्रभावकारी बनाउन यस्तो अभ्यास महत्त्वपूर्ण मानिन्छ। कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान र मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलगायत सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो। अभ्यासले स्थानीय स्तरमा विपद् आइपर्दा तत्काल चाल्नुपर्ने कदम र आपसी समन्वयको अभावलाई चिर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।


































































