हेटौंडामा खानेपानीको ‘कालो युग’ अन्त्य: घण्टौंको सास्ती अब इतिहास

हेटौंडा । हिउँदको समयमा पानीको जोहो गर्न चुरेको खोँच र छिमेकी जिल्ला बारासम्म भौँतारिनुपर्ने हेटौंडेलीको वर्षौँ पुरानो नियति फेरिएको छ। खानेपानी व्यवस्थापन बोर्डको सक्रियता र स्थानीय सरकारको योजनाबद्ध पहलपछि हेटौंडावासीले खानेपानीको चरम संकटबाट मुक्ति पाएका छन्।

केही वर्षअघिसम्म पानीको एउटा गाग्री भर्न घण्टौं खर्चनुपर्ने अवस्था थियो। हेटौंडा-१५, चेपाङ बस्तीकी माया चेपाङ भन्छिन्, “बिहानै मुहान खोज्दै भौँतारिनुपर्थ्यो, त्यो सास्ती अहिले सपना जस्तै लाग्छ। अहिले घरमै धारा छ, पानीको पिरलो टरेको छ।”

२९ हजार धारा, दैनिक पौने ४ करोड लिटर पानी
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले १२ र १३ नम्बर वडा बाहेकका १७ वटा वडामा सेवा विस्तार गरेको छ। हाल २९ हजार ७ सय ९ वटा धारामार्फत नगरवासीलाई नियमित पानी उपलब्ध गराइँदै आएको छ।

बोर्डका अनुसार १ मुहान, ४० डीप ट्युबवेल र १० वटा समवेलमार्फत दैनिक ३ करोड ७५ लाख लिटर पानी उत्पादन भइरहेको छ। कुनै समय खानेपानी संस्थानमा पानीका लागि लाग्ने लामो लाइन अहिले कथाजस्तै बनेको छ। बजार क्षेत्रबाहेक अन्य स्थानमा दैनिक ८ घण्टा नियमित पानी वितरण भइरहेको बोर्डले जनाएको छ।

पूर्वाधार विकासमा आक्रामक सुधार
बोर्डका अध्यक्ष प्रताप विष्टका अनुसार संघीय र बागमती प्रदेश सरकारसँगको सहकार्यमा पाइपलाइन विस्तार, ट्यांकी निर्माण र मुहान संरक्षणका कामले तीव्रता पाएका छन्। “हामी नगरवासीलाई स्वच्छ र गुणस्तरीय पानी खुवाउन प्रतिबद्ध छौं। पानीको गुणस्तर जाँच्न अत्याधुनिक प्रयोगशालासमेत सञ्चालनमा ल्याएका छौं,” विष्टले भने।

बोर्डको आर्थिक सुशासन पनि बलियो देखिएको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १२ करोड १५ लाख लक्ष्यमध्ये ११ करोड ८७ लाख रुपैयाँ महसुल संकलन भएको छ।

‘धाराबाटै सिधै पिउन मिल्ने पानी हाम्रो लक्ष्य’
नगर प्रमुख मीनकुमारी लामाले उपमहानगर खानेपानीलाई आफ्नो प्राथमिकतामा राखेको बताइन्। “नागरिकले पानीको सास्ती भोग्नु नपरोस् भनेर हामी धाराबाटै सिधै पिउन मिल्ने (Safe Drinking Water) अवस्था बनाउन लागिपरेका छौँ,” नगर प्रमुख लामाले भनिन्।

उनका अनुसार बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै भविष्यको मागलाई समेत धान्ने गरी दीर्घकालीन संरचना निर्माण भइरहेको छ। निःशुल्क पानी वितरणको प्रयासमा केही प्राविधिक अवरोध आए पनि बोर्डसँगको सहकार्यमा सहुलियतपूर्ण र दिगो सेवा प्रवाहमा उपमहानगर दृढ रहेको उनले स्पष्ट पारिन्।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.