हेटौँडा । नेपालमा विद्यालय तहमा भर्ना भएका विद्यार्थीमध्ये आधाभन्दा बढीले माध्यमिक तहसम्मको अध्ययन पूरा गर्न नसक्ने अवस्था रहेको तथ्य सार्वजनिक भएको छ। शिक्षा विकास तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौरले हेटौँडामा आयोजित विद्यालय शिक्षा सम्बन्धी कार्यक्रममा यस्तो जानकारी दिएका हुन्।
राठौरका अनुसार विद्यालय भर्ना दर बढ्दै गए पनि विद्यार्थीलाई विद्यालयमै टिकाइ राख्ने चुनौती अझै गम्भीर छ। विशेषगरी आधारभूत तह पार गरेपछि विद्यालय छाड्ने दर उल्लेख्य रहेको उनले बताए। यसले शिक्षामा पहुँच बढे पनि निरन्तरता कायम गर्न अझै प्रभावकारी प्रयास आवश्यक रहेको देखाएको उनको भनाइ छ।

उनले विद्यालय छाड्ने समस्या न्यूनीकरण गर्न अभिभावक, विद्यालय, स्थानीय तह र सम्बन्धित निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। साथै गुणस्तरीय शिक्षण, सुरक्षित तथा आकर्षक विद्यालय वातावरण, निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयन र विद्यार्थीमैत्री कार्यक्रम सञ्चालनमा जोड दिनुपर्ने उल्लेख गरे।
शिक्षा क्षेत्रमा सुधारका विभिन्न प्रयास भइरहे पनि विद्यालय छाड्ने दर घटाउन सबै तहबाट साझा प्रतिबद्धता र निरन्तर पहल आवश्यक रहेको उनको भनाइ छ।





























