हेटौँडा । बागमती प्रदेश सरकारले प्रशासनिक संरचनामा व्यापक पुनर्संरचना गर्दै प्रदेश अन्तर्गतका कार्यालयहरूको संख्या घटाउने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ८ वटा मन्त्रालय मातहत जम्मा १९१ वटा कार्यालय मात्र कायम रहने गरी संगठन संरचना पुनर्गठन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार यसअघि रहेका २०१ वटा कार्यालयमध्ये केहीलाई गाभ्ने, केहीलाई खारेज गर्ने र आवश्यकताअनुसार नयाँ कार्यालय स्थापना गर्ने निर्णय गरिएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा गरिएको यस पुनर्संरचनाले अस्थायी तथा दोहोरो प्रकृतिका कार्यालयहरू खारेज गरी प्रशासनिक खर्च कटौती र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
त्यस्तै, मन्त्रिपरिषद्ले कर्मचारी व्यवस्थापनतर्फ स्वास्थ्य सेवाका उपसचिवद्वय सागरप्रसाद घिमिरे र सतीश विष्टलाई ११ औँ तहमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ।
बैठकका अन्य निर्णयहरू:
र्याफ्टिङ स्कुल: संस्कृति तथा पर्यटन मन्त्रालयको प्रस्तावमा प्रदेशमा र्याफ्टिङ स्कुल सञ्चालनका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ। साहसिक पर्यटन प्रवर्द्धन र दक्ष जनशक्ति उत्पादनमा यो कार्यक्रम कोशेढुङ्गा साबित हुने सरकारको विश्वास छ।
अपाङ्गता नीति: सामाजिक विकास मन्त्रालयले तयार पारेको ‘अपाङ्गता भएका व्यक्ति सम्बन्धी प्रादेशिक नीति, २०८३’ स्वीकृत गरिएको छ। यस नीतिले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण, पहुँच अभिवृद्धि तथा जीवनस्तर सुधारका लागि मार्गदर्शन गर्ने मन्त्री तामाङले बताउनुभयो।


































































