हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। प्रदेशसभा सचिवालय परिसरमा बुधबार सम्पन्न निर्वाचनमा बानियाँले बहालवाला मुख्यमन्त्री बहादुर सिंह लामालाई पराजित गर्दै नयाँ नेता चयन भएका हुन्।
निर्वाचनमा कांग्रेसका ३७ जना सांसदमध्ये बानियाँले २२ मत प्राप्त गरे भने लामाले १४ मत मात्र पाए। १ मत बदर भएको थियो। लामाले दलको नेताको हैसियत गुमाएपछि नयाँ नेतृत्व चयन गर्न निर्वाचन गरिएको हो।

यसअघि बानियाँको नेतृत्वमा कांग्रेसका २१ जना सांसदले संसदीय दलको कार्यालयमा लामा नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। उक्त प्रस्तावमा पाँच जना मन्त्रीले राजीनामा दिएर बानियाँको पक्षमा समर्थन जनाएका थिए। प्रस्ताव २२ मतको बहुमतले पारित भएको थियो।
बानियाँ र लामाबीच यो दोस्रो पटक संसदीय दलको नेताका लागि प्रतिस्पर्धा भएको हो। २०७९ पुस १३ मा भएको अघिल्लो निर्वाचनमा लामा विजयी भएका थिए। त्यतिबेला उनले २१ मत ल्याउँदा बानियाँले १६ मत पाएका थिए।





























