हेटौंडा । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवसको अवसरमा हेटौंडामा ‘स्वर समर्पण – जनसाङ्गीतिक साँझ’ कार्यक्रम आयोजना हुने भएको छ। नेकपा एमाले मकवानपुर जनसंगठन समन्वय संयन्त्रको आयोजनामा तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ मकवानपुरको व्यवस्थापनमा यो कार्यक्रम आउँदो साउन ७ गते हुने तय भएको छ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिका–४ स्थित रोयल पार्टी प्यालेसमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा राष्ट्रिय जनसांस्कृतिक महासंघद्वारा १४ वटा जनवादी गीतहरूको प्रस्तुति दिइने जनाइएको छ। साथै अनेरास्ववियु लगायत अन्य विभिन्न जनसंगठनहरूले पनि सांस्कृतिक प्रस्तुति दिनेछन्।
जनसंगठन समन्वय संयन्त्रका प्रमुख सन्तोष पौडेलका अनुसार, कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ। उनले संयन्त्रबारे जानकारी दिँदै भने, “जनसंगठन समन्वय संयन्त्र नेकपा एमालेका भातृ संगठनहरूको समन्वय र परिचालन गर्ने वैधानिक संरचना हो, जसले जनसंगठनहरूको प्रभावकारी परिचालन, वैचारिक तथा राजनीतिक प्रशिक्षण, ‘जनता संग जनसंगठन’ अभियान संचालन लगायतका कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।”
कार्यक्रममा नेकपा एमालेको स्वयंसेवक विभागले स्वयंसेवक व्यवस्थापन तथा परिचालनको जिम्मेवारी सम्हाल्नेछ।
पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजना गरिएको यस जनसाङ्गीतिक साँझ कार्यक्रममार्फत नयाँ पुस्तालाई जनवादी गीत–संगीतको माध्यमबाट नेपालको कम्युनिस्ट आन्दोलन, समाज र जीवनबारे बुझाउने आयोजकहरूको अपेक्षा छ।
पुष्पलाल श्रेष्ठको जीवन र योगदान
पुष्पलाल श्रेष्ठको जन्म वि.सं. १९८१ साल असार १५ गते रामेछापको भंगेरीमा भएको हो। उनी १५ वर्षको उमेरमै राणाविरुद्धको आन्दोलनमा लागेका थिए। उनका दाजु गंगालाल श्रेष्ठ राणा शासनविरुद्ध आन्दोलनमा शहीद भएका थिए। यसले उनलाई पनि क्रान्तिको मार्गमा अघि बढ्न प्रेरित गर्यो। छोरा राजनीतिमा लागेकै कारण उनका पिता भक्तलालको सरकारी जागिरसमेत खोसिएको थियो।
वि.सं. २००६ साल वैशाख १० गते पुष्पलालले नेकपा स्थापना गरेका थिए, जसमा नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, र मोतीदेवी श्रेष्ठजस्ता अग्रगामी नेताहरूको साथ रहेको थियो। पार्टीको स्थापना भारतको कोलकाताको श्यामबजारमा गरिएको थियो।
वि.सं. २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारको क्रममा उनकाे निधन भएको थियो। कम्युनिस्ट आन्दोलनमा उनको योगदानको सम्मानस्वरूप सरकारले राष्ट्रिय पुरस्कारसमेत स्थापना गरेको छ।



























