हेटौंडा । मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी IKO UNION हेटौंडाको आयोजनामा वार्षिक कार्यक्रम अन्तर्गत कराते प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष बुद्धि नाथ न्यौपानेको सभाध्यक्षता तथा बागमती प्रदेशका खेलकुद मन्त्री मीन कृष्ण महर्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
प्रतियोगितामा महिला २५, ३५, ४५, ५० केजी तथा पुरुष २५, ३०, ३५, ४५ केजी तौल समूहमा मकवानपुरका विभिन्न उप-डोजोहरूबाट १०० जना खेलाडीहरूले सहभागिता जनाएका थिए।
कार्यक्रममा बागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपक लामा, नेपाल बालकुमारी क्योकुशिन कराते संघका संस्थापक अध्यक्ष सुरेन डंगोल, हेटौंडा उपमहानगरपालिका–१८ का वडा अध्यक्ष अनिल बानिया, बागमती प्रदेश खेलकुद परिषद सदस्य सविन भट्टाचार्य, इन्टरनेशनल अर्थक्वेक मेमोरियल कभर्ड हलका अध्यक्ष राजा शाक्य, केन्द्रिय प्रतिनिधि कृष्ण सुवेदी, मकवानपुर जिल्ला खेलकुद विकास समिति पूर्व अध्यक्षहरू भेष खड्गी, सानू लामा, साथै विष्णु श्रेष्ठ, शिव नारायण श्रेष्ठ र सुदर्शन खतिवडा लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम संयोजक सुमन कर्माचार्यका अनुसार मकवानपुर जिल्लाभित्रका उपशाखा खेलाडीहरूको सक्रियता बढाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।
कार्यक्रम सञ्चालन सुमित्रा लामाले गर्नुभएको थियो भने संघका उपाध्यक्ष अशोक डिमडुङ्गले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रशिक्षक सुसन श्रेष्ठ, रेश्मा थापा र युवराज लामाको समूहले आकर्षक कराते डेमो प्रदर्शन गरेका थिए। साथै, सृजना कला केन्द्रका कलाकारहरूले सांस्कृतिक नृत्य प्रस्तुत गर्दै दर्शकहरूको मन जितेका थिए।



































































