हेटौंडामा प्लास्टिक बोत्तलसँग बिरुवा साट्ने अभियान सम्पन्न

हेटौंडा । विश्व वातावरण दिवस २०८२ को सन्दर्भमा हेटौंडा उपमहानगरपालिका–९ मा “प्लास्टिकका बोत्तलसँग फलफूलको बिरुवा साट्ने अभियान” आज सफलता साथ सम्पन्न भएको छ। सप्ताहव्यापी कार्यक्रमको भागस्वरूप आयोजित उक्त अभियान टोल विकास संस्था नगर समन्वय समिति, उपमहानगरपालिका–९ को टोल विकास संस्था वडा समन्वय समिति र पशुपति हेल्थ क्लबको संयोजनमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामा उपस्थित हुनुहुन्थ्यो। प्रमुख अतिथि लामाले वातावरण संरक्षणका लागि यस्ता रचनात्मक कार्यक्रमहरूलाई अत्यन्त प्रभावकारी बताउँदै अन्य वडाहरूमा समेत विस्तार गर्न नगरपालिकाको तर्फबाट आवश्यक समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा २२० जना स्थानीय नागरिकले सक्रिय सहभागिता जनाएका थिए। सहभागिहरूले प्रयोग गरिएका प्लास्टिकका बोत्तल संकलन गरी पाँच बोत्तल साटाफेरमा एकवटा फलफूलको बिरुवा प्राप्त गरेका थिए। वितरण गरिएका बिरुवामा आँप, अमला, अम्बा, कागती, लिचीजस्ता फलफूलका जात समावेश थिए।

अध्यक्ष अधिकारीले बताएअनुसार, “यो अभियान केवल बोत्तल संकलनको कार्यक्रम होइन, वातावरणप्रतिको हाम्रो जिम्मेवारी र भावी पुस्ताप्रतिको प्रतिबद्धताको प्रतीक हो।” उहाँले आगामी दिनहरूमा अन्य वडाहरूमा पनि यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो।

कार्यक्रममा महिला समूह, युवा क्लब, सामाजिक संघसंस्था तथा स्थानीय टोल विकास संस्थाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। संकलित प्लास्टिक बोत्तलहरूलाई सुरक्षित र वातावरणमैत्री तरिकाले व्यवस्थापन गर्दै पुनः प्रयोगयोग्य बनाउन आवश्यक प्रक्रिया सुरु गरिएको आयोजकहरूले जानकारी दिएका छन्।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोलि जेठ २० गते विहान ११ बजे “जलवायु सचेतना : समस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास” शीर्षकमा प्यानल डिस्कसन तथा फिल्म स्क्रिनिङ आयोजना हुनेछ भने साँझ ४:३० बजे हेटौंडा–८ चन्द्रोदय मा.वि. परिसरमा वृक्षारोपण कार्यक्रम गरिनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.