हेटौँडा । ५३ औं विश्व वातावरण दिवसको अवसरमा हेटौंडामा जेठ १६ गतेदेखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गरिने भएको छ । ‘प्लास्टिक प्रदूषण नियन्त्रण गरौँ’ भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरिने टोल विकास संस्था नगर समन्वय समितिले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
कार्यक्रमको पहिलो दिन जेठ १६ गते हेटौंडा उपमहानगरपालिकामा रक्तदान कार्यक्रम आयोजना गरिनेछ । जेठ १७ गते ‘सफा हेटौँडा अभियान’ अन्तर्गत विभिन्न टोल विकास संस्थामा बृहत सरसफाइ कार्यक्रम हुनेछ । जेठ १८ गते ‘हेटौंडाको सुन्दर वातावरण’ विषयक चित्रकला प्रतियोगिता र प्रकृति संवाद यात्रा २०८२ सञ्चालन गरिने छ । जेठ १९ गते ‘बोत्तल देउ, विरुवा लिउ’ कार्यक्रम हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रको खेल मैदानमा गरिनेछ ।
जेठ २० गते रोयल पार्टी प्यालेसमा “जलवायु सचेतनाः समस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास” विषयक प्यानल डिस्कसन हुनेछ । त्यसैदिन हेटौंडा–८ को चन्द्रोदय माविमा वृक्षारोपण कार्यक्रम पनि गरिनेछ ।
जेठ २१ गते उपमहानगर सभाहलमा “यदि म हेटौंडाको मेयर भए भने” शीर्षकमा भिडियो प्रतियोगिता आयोजना गरिनेछ । सोही दिन विद्यालयस्तरीय फोहोर वस्तुहरूबाट बनाइएका सामग्रीहरूको प्रतिस्पर्धा पनि रोयल पार्टी प्यालेसमा हुनेछ ।
सप्ताहव्यापी कार्यक्रमको समापन जेठ २२ गते बिहान ७ बजे हुप्राचौरबाट झाँकी, बाजागाजा सहितको वातावरणीय सचेतनामूलक ¥यालीबाट सुरु हुनेछ, जसपछि सम्मान तथा पुरस्कार वितरण गर्दै कार्यक्रम सम्पन्न गरिनेछ ।
वातावरण दिवसका अवसरमा गरिने विभिन्न प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, द्वितीयलाई ७ हजार ५ सय, तृतीयलाई ५ हजार, र सान्त्वना पुरस्कारका लागि ३ जनालाई जनही २ हजार रुपैयाँ प्रदान गरिनेछ । सप्ताहव्यापी कार्यक्रमका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।कार्यक्रमको नेतृत्व समन्वय समिति अध्यक्ष ध्रुव अधिकारीले गर्दै हुनुहुन्छ ।