हेटौँडामा जीवनरक्षक चणिकलाल तामाङलाई १ लाख, पत्रकारहरू सम्मानित

हेटौँडा । गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले हेटौँडामा आयोजना गरेको विशेष समारोहमा विपद् व्यवस्थापनमा योगदान दिने र सञ्चार क्षेत्रमा उत्कृष्टता देखाउने व्यक्तिहरूलाई सम्मान गरिएको छ ।

गत असोज १२ मा नख्खु खोलामा आएको बाढीमा दुई जनाको ज्यान जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका चणिकलाल तामाङलाई नगद १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो ।

त्यसैगरी सामाजिक विकास मन्त्रालयको आयोजनामा सञ्चालित समाचार लेखन प्रतियोगितामा विजयी भएका पत्रकारहरूलाई नगद पुरस्कार सहित सम्मान गरियो । प्रथम स्थान प्राप्त कृष्णा विष्ट (सुनिता) ले नगद २० हजार रुपैयाँ प्राप्त गरिन् । द्वितीय स्थानमा रहेकी सरस्वती अधिकारी ले १५ हजार रुपैयाँ पाएकी छन् । तृतीय स्थानमा स्मिता अर्जेल ले १० हजार रुपैयाँ हात पारिन् भने सान्त्वना पुरस्कार स्वरूप सुनिता सापकोटा लाई ५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

कार्यक्रमको सुरुआत नगर परिक्रमा सहितको सांस्कृतिक झाँकी र ¥यालीबाट गरिएको थियो, जसले मुख्यमन्त्री कार्यालयको परिसरमा सभाको रूप लिएको थियो ।

गणतन्त्रका उपलब्धि नकार्न मिल्दैन : प्रदेश प्रमुख
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा ले गणतन्त्रका उपलब्धिहरू अमूल्य रहेको उल्लेख गर्दै त्यसलाई नकारात्मक रुपमा व्याख्या गर्नु राजनीतिक पूर्वाग्रह भएको बताए ।

उनले भने, “गणतन्त्र शासन प्रणाली मात्र होइन, न्याय, समानता, समावेशिता र सेवाभावको प्रतीक हो ।” प्रदेश प्रमुख देवकोटाले अझै पनि जनताले अपेक्षा गरेअनुसारको परिवर्तन महसुस गर्न नसकेको स्वीकार गर्दै राजनीतिक दलहरूले सेवा केन्द्रित कार्यशैली अपनाउनुपर्नेमा जोड दिए ।

संघीयता कार्यान्वयनमा अझै काम गर्न बाँकी : मुख्यमन्त्री लामा
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा ले गणतन्त्रको मूल आत्मा संघीयता र समावेशी शासन व्यवस्था भएको उल्लेख गरे ।

“संघीय शासन प्रणालीले नागरिकसम्म सत्ताको पहुँच पु-याउने अपेक्षा बोकेको छ,” मुख्यमन्त्री लामाले भने, “तर यसको पूर्ण कार्यान्वयनका लागि अझै पनि धेरै काम गर्न बाँकी छ ।” उनले प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न ढिलाइ हुँदा प्रतिगामी तत्वहरूले शासन व्यवस्थामाथि प्रश्न उठाउने चेष्टा गरेको बताएका थिए ।

मुख्यमन्त्री लामाले गणतन्त्रको विकल्प निरंकुश राजतन्त्र हुन नसक्ने स्पष्ट पार्दै, प्रदेश सरकार समृद्धि र जनताको अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.