हेटौंडामा सञ्चारमैत्री बजेट निर्माणसम्बन्धी अन्तरक्रिया तथा दोस्रो प्रादेशिक भेला सुरु

हेटौंडा । सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भूमिकासम्बन्धी अन्तरक्रिया तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशद्वारा आयोजना गरिएको दोस्रो प्रादेशिक भेला हेटौंडामा सुरु भएको छ।

मंगलबार सुरु भएको दुई दिने कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा प्रमुख अतिथि थिए। कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

मुख्यमन्त्री लामाले लोकतन्त्र र प्रजातन्त्रप्रति सरकारको अटुट विश्वास रहेको उल्लेख गर्दै पत्रकारिता सत्य, तथ्य र सन्तुलित सूचनामा आधारित हुनुपर्ने बताए। उनले कानुन निर्माणमा उच्च सावधानी अपनाउनु पर्ने आवश्यकता औंल्याउँदै व्याख्या गर्ने निकायद्वारा अर्थको तोडमोड हुँदा समस्या सिर्जना हुने उल्लेख गरे। साथै, उत्पादनमुखी क्षेत्रमा लगानीको कमीलाई सरकारको कमजोरीका रूपमा स्वीकारे।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री लामिछानेले संघीय सरकारको असहयोगका कारण प्रदेश सरकारले बनाएका थुप्रै कानुनहरू कार्यान्वयनमा जान नसकेको बताए। उनले प्रदेश सरकारसँग पर्याप्त अधिकार नभएको, मन्त्रालयहरू अझै भाडामा चलिरहेको अवस्थाले चुनौती थपिएको जनाए।

आर्थिक मामिला तथा योजना मन्त्री काफ्लेले सूचनाको युगमा पत्रकारको भूमिका जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिए। उनले खोजमूलक पत्रकारितालाई सशक्त बनाउनेतर्फ प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरको अध्यक्षता रहेको थियो। कार्यक्रममा प्रदेश कोष तथा लेखा नियन्त्रक हरी उपाध्यायले लेखासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले प्रदेशको पर्यटनबारे कार्यपत्र प्रस्तुत गरे।

अन्तरक्रियामा नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, बागमती प्रदेशका निवर्तमान अध्यक्ष शिव देवकोटा, प्रेस चौतारी बागमती प्रदेश अध्यक्ष तिलक रिमाल, प्रेस सेन्टरका अध्यक्ष ध्रुव अधिकारी, फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा बागमती प्रदेशका जिल्ला शाखाहरूका अध्यक्ष, सचिव, कोषाध्यक्षलगायत पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.