हेटौंडा । पूर्वपश्चिम राजमार्गमा क्षमताभन्दा बढी भार बोकेका मालवाहक सवारीका कारण पुल भाँचिने र राजमार्ग भासिने घटनामा वृद्धि भइरहेकामा नारायणी यातायात व्यवसायी कम्पनी प्रालिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कम्पनीले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै यस्तो अवस्था जारी रहँदा सार्वजनिक यातायात सेवा प्रभावित भएको र यात्रु तथा मालवाहक सवारी साधनले अनावश्यक झन्झट व्यहोर्नुका साथै आर्थिक क्षति बेहोर्नु परेको जनाउँदै चिन्ता व्यक्त गरेको हो।
कम्पनीका अध्यक्ष गोकर्ण पराजुलीले पुल भाँचिनुका पछाडि मुख्यतः क्षमताभन्दा बढी भार बोकेका ट्रकहरू जिम्मेवार रहेको दाबी गर्नुभयो। उहाँले विशेषगरी भारतीय नम्बर प्लेटका मालवाहक गाडीले ओभरलोडिङ गर्दा पुराना तथा मर्मतविहीन पुलहरू भाँचिएको उदाहरण प्रस्तुत गर्नुभयो।
गत २०८२ वैशाख २९ गते नवलपरासीको चोरमारा स्थित गिरुबारि खोला पुल भाँचिँदा सवारी आवागमन अवरुद्ध भएको थियो। होङ्सी सिमेन्ट कम्पनीको क्लिंकर बोकेको १८ चक्के टेलरका कारण पुल ध्वस्त भएको थियो। यस्तै, पुस २६ गते विनयी खोलाको पुल पनि अधिक भारका कारण भाँचिएको थियो, जसले दुई दिनसम्म पूर्वपश्चिम राजमार्गमा यातायात ठप्प बनाएको थियो।
अध्यक्ष पराजुलीका अनुसार, अधिकांश पुलहरू ५० वर्ष पुराना छन्, जुन समयमा सवारी चाप र लोड सीमित थियो। अहिले ती पुलहरू दैनिक हजारौं सवारी साधन र अत्यधिक भार बोकेका ट्रकहरूको दबाब थेग्न नसक्ने अवस्थामा पुगेका छन्। “सरकारले कुन सडकमा कति भार बोकेका गाडी गुड्न दिने भन्ने नियम कडाईका साथ लागू गरे मात्र पुल र सडकको दीर्घायु सुनिश्चित हुन्छ,” उहाँले भन्नुभयो।
उहाँले नियमनकारी निकायको कमजोरीप्रति समेत टिप्पणी गर्नुभयो। कानुनमा गाडीले बोक्न पाउने लोड स्पष्ट भए पनि चालकहरूले भाडाको लोभमा तोकिएकोभन्दा धेरै सामान बोकेर पुल भत्काउने जोखिम मोल्ने गरेको उल्लेख गर्नुभयो। प्रहरी प्रशासन पनि ओभरलोड रोक्न प्रभावकारी देखिएको छैन।
“नेपाली ट्रकहरू प्रायः तौलपुलको नियम पालना गर्छन्, तर भारतबाट आउने ट्रकहरूमा कुनै नियन्त्रण छैन,” पराजुलीले बताउनुभयो, “सरकारको बेवास्ता र ढिलो निर्णयका कारण नेपालका सडक र पुलहरू धरापमा परेका छन्।”
नारायणी यातायात व्यवसायी कम्पनीले सरकारलाई नियम कडाइका साथ कार्यान्वयन गर्न, ओभरलोड नियन्त्रणमा कडा निगरानी राख्न तथा पुलको नियमित मर्मत र स्तरोन्नति गर्न आग्रह गरेको छ।