मकवानपुर । चैनपुर जेसीज मनहरीको सप्ताहव्यापी कार्यक्रम आजबाट सुरु हुँदैछ । जिल्लास्तरीय नकाउट फुटबल प्रतियोगिता आयोजना गरिरहेको चैनपुर जेसीज मनहरीले आजबाट सप्ताहव्यापी कार्यक्रम पनि सुरु गर्न लागेको हो ।
सप्ताहव्यापी कार्यक्रमको आज पहिलो दिन मनहरी बजारमा रक्तदान कार्यक्रमको आयोजना गरिएको चैनपुर जेसीज, मनहरीका अध्यक्ष रविन ढकालले जानकारी दिए । उनका अनुसार, आगामी मंसिर ३ गतेसम्म विविध रचनात्मक कार्यक्रम गरी यसवर्षको सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागिएको हो ।
यस्तै, कात्तिक २७ गते मंगलबार प्रगति मावि लोथरमा स्टेशनरी सामग्री वितरण गरिने, कात्तिक २८ गते मनहरी–४, गोलघरमा स्लो मोटरसाइकल रेस प्रतियोगिता, कात्तिक २९ गते बिहीबार महेन्द्र ज्योति मावि हाँडीखोलामा लागूपदार्थ दुर्व्यसनी सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गर्न लागेको जेसीज सप्ताह २०२४ का मूल कार्यक्रम संयोजक सुरेश गौतमले जानकारी दिए ।
यसैगरी, कात्तिक ३० गते शुक्रबार बालजीवन ज्योति मावि मकरीमा ‘समाजका लागि युवा’ विषयक वत्तृत्वकला प्रतियोगिता, कात्तिक ३० गते शनिबार हाँडीखोलाको लामिटारदेखि घोलघरसम्म जेसीज दौड प्रतियोगिता हुने कार्यक्रम संयोजक गौतमले बताए ।
उनका अनुसार फुटबल प्रतियोगिता र सप्ताहव्यापी कार्यक्रमको समापन एकैपटक आयोजना गर्न लागिएको हो । प्रतियोगिताको फाइनल मंसिर ३ गते हुनेछ । सोहीदिन जेसीजको सप्ताहको औपचारिक समापन गरिने जनाइएको छ ।