मकवानपुर । बागमती प्रदेश सरकारका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले ई–रिक्सा चालकहरुको समस्याको विषयमा छलफल गरेका छन् । बिहीबार मन्त्रालयमा हेटौंडाका ई–रिक्सा चालकहरुले मन्त्री महर्जन समक्ष सवारी चालक अनुमती पत्र सम्बन्धि समस्या लिएर आएका थिए । उनीहरुको समस्याको हल गर्न मन्त्रालय तत्पर रहेको मन्त्री महर्जनले आश्वासन दिए ।
विगतमा प्रयोग गर्दै आएको हस्त लिखित सवारी चालक अनुमती पत्रमा सी वर्गको अनुमती पत्रले टेम्पो र अटोरिक्सा चलाउन पाउने अनुमती रहेता पनि विगतको समयमा ई–रिक्साको समेत सोही अनुमती पत्र दिईने व्यवस्था रहेकोमा हाल प्रयोगमा रहेको स्र्माट सवारी चालक अनुमती पत्रमा भने ई–रिक्सा चलाउनका लागि सि १ वर्गको अनुमती पत्र चाहिने व्यवस्था छ । सोही अनुसार सि वर्गको अनुमती पत्र नहुँदा ट्राफिक प्रहरीले ई–रिक्सा चालकहरुलाई चिट काट्ने तथा सवारी साधन समेत नियन्त्रणमा लिने गरेका र नयाँ अनुमती पत्र लिनका लागि पुनः परिक्षा दिनुपर्ने समस्या भएको चालक तथा यातायात कम्पनीका सञ्चालकहरुले गुनासो गरे ।
उक्त समस्याको विषयलाई लिएर मन्त्री महर्जनले यी समस्याको समाधान प्रदेश सरकारबाट मात्र सम्भव नहुने भन्दै संघीय सरकारसँग समन्वय गरेर समस्याको समाधानमा तदारुकता देखाउने बताए । साथै ट्रायल पास गरेर नै चालक अनुमती पत्र प्राप्त गरेकाले समस्याको समाधान नहुन्जेलसम्म सोहीे अनुमती पत्रले सवारी चलाउन दिन् र चिट नकाट्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक अधिकारीलाई निर्देशन समेत दिए ।
मन्त्रालयमा भएको छलफल कार्यक्रममा यातायत व्यवस्था कार्यालय हेटौंडाका कार्यालय प्रमुख तिर्थराज उपाध्याय, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक केशव अधिकारी, श्रम रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौला, सरोकारवाला र ई–रिक्सा चालकहरुको उपस्थिती रहेको थियो ।