७ दिनमै नतिजा सार्वजनिक गर्दै बागमती विश्वविद्यालयको उदाहरणीय कदम, उच्च शिक्षामा नयाँ मापदण्ड स्थापित

हेटौँडा । बागमती विश्वविद्यालयले परीक्षा प्रणालीलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउने आफ्नो प्रतिबद्धतालाई व्यवहारमै उतार्दै पहिलो सेमेष्टरको परीक्षाफल परीक्षा सम्पन्न भएको सातौँ दिनमै सार्वजनिक गरेको छ। विश्वविद्यालयअन्तर्गत सञ्चालित तीनवटै स्नातक संकायको नतिजा एकैसाथ प्रकाशन गर्दै विश्वविद्यालयले नेपालको उच्च शिक्षा क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेको हो।

नेपालमा विश्वविद्यालयहरूको परीक्षाफल आउन प्रायः महिनौँसम्म कुर्नुपर्ने अवस्था रहँदै आएको सन्दर्भमा बागमती विश्वविद्यालयको यो कदमलाई समयसापेक्ष, विद्यार्थीमैत्री र परिणाममुखी शैक्षिक व्यवस्थापनको उत्कृष्ट नमुनाका रूपमा हेरिएको छ।

विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टीज) का अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलका अनुसार गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई चुस्त, विश्वसनीय र समयमै नतिजा प्रकाशन गर्ने लक्ष्यअनुसार यो सफलता हासिल गरिएको हो। उनले आगामी दिनमा पनि यही कार्यशैलीलाई निरन्तरता दिँदै विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।

बागमती विश्वविद्यालयले एक वर्षअघि व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि तथा शिक्षा तथा सामाजिक विज्ञान संकायअन्तर्गत स्नातक तहको अध्ययन-अध्यापन सुरु गरेको थियो। आज सार्वजनिक गरिएको नतिजा यी तीनवटै संकायको पहिलो सेमेष्टर परीक्षाको हो।

परीक्षाफलअनुसार विद्यार्थीहरूको उत्तीर्ण प्रतिशत पनि उत्साहजनक देखिएको छ। शिक्षा तथा सामाजिक विज्ञान संकायमा सबैभन्दा बढी ८९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। विज्ञान तथा प्रविधि संकायमा ७९.०३ प्रतिशत तथा व्यवस्थापन तथा कानुन संकायमा ७२.५८ प्रतिशत विद्यार्थी सफल भएका विश्वविद्यालयले जनाएको छ।

छोटो समयमै परीक्षाफल सार्वजनिक गर्ने विश्वविद्यालयको अभ्यासले विद्यार्थीहरूको शैक्षिक समयको सदुपयोग हुनुका साथै विश्वविद्यालयप्रतिको विश्वास, विश्वसनीयता र संस्थागत साखसमेत थप मजबुत बनाएको विश्वास गरिएको छ। उच्च शिक्षामा समयमै सेवा प्रवाह र गुणस्तरीय व्यवस्थापन सम्भव छ भन्ने स्पष्ट सन्देश बागमती विश्वविद्यालयले आफ्नो कार्यबाट दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.