हेटौंडा । हेटौंडा ११ सिमलटार , थानाभर्याङ्ग , तल्लो थानाभर्याङ्ग , सागरपथ , गोल्फिनटारका वासिन्दाहरुले सोझै धाराको पानी उपभोग गर्न पाउने भएका छन् । प्रदेश , संघिय र स्थानीय सरकार ( हेटौंडा उपमहानगर पालिका ) , खानेपानी ब्यवस्थापन बोर्ड हेटौंडाको संयुक्त लगानीमा सिमलटारमा ४ लाख ५० हजार लिटरको खानेपानी ट्याङ्की निर्माण र पाइप बिस्तारको काम गरेपछी यो खुशी छाएको हो स्थानीय उपभोक्ताहरुमा । सरकारले ढिलै भएपनी खानेपानी उपलब्ध गराएकोमा आफुलाइ अत्यन्तै खुसी लागेको गोल्फिन्टार निवासी सीता न्यौपाने बताउछिन् । पहिला – पहिला खानेपानी कुवा , खोलाको जरुवाबाट पानी बोकेर ल्याइ आफू खाने र वस्तुभाउलाइ पनि त्यही पानी खुवाउने गर्थ्यौ न्यौपानेले बिगत सम्झिदै भनिन् ।

त्यसपछि स्थानीय सरकार वडाको वजेटमा २ वटा इनार खनाइयो २०४२/०४३ साल तिरको कुरा हो । त्यसपछि टिउवेल जडानभयो त्यसैबाट पानीको आपूर्ति सहज हुन्थ्यो उनले कथा सुनाइन् । गाउँमा जम्मा २ वटा टिउवेल कहिलेकाही त्यही धारामापनी मानिसहरुले ताल्चा लगाइदिन्थे , कहिलेकाही टिउवेल भएको ठाउँमा चुच्चो – चुच्चो काडाको बार लगाइदिन्थे काडाले घोचेर मेरो खुट्टाको खिल अझै निको भएको छैन त्यस्तो दुख गरेर खानेपानीको ब्यवस्था गर्नुपर्थ्यो उनले सुनाइन् । जब घरघरमै टिउवेल आयो झन् सहज भयो त्यसपछि त सरकारी धारा छिमेकी सग मिलेर जोडेका छौ । पानीको पैसा पालैपालो तिर्छौ ।

खानेपानी सफा छ यो पानी पिउनथालेपछी घाँटी खस्खस् गर्ने , रुघाखोकी लाग्ने हुन्थ्यो त्यो हटेको छ , न्यौपानेले खुशी व्यक्त गर्दै भनिन् । यस्तै जेष्ठ नागरिक मञ्च हेटौंडा ११ का निवर्तमान अध्यक्ष तथा सागरपथ टोलविकास संस्थाका सल्लाहकार स्थानीय होमप्रसाद न्यौपाने पनि घरघरमा सरकारी धारा आएकोमा खुशी छन् । पहिला – पहिला कुवा , खोलाको जरुवाबाट पानी ल्याएर काम चलाउथ्यौ । त्यसपछि सरकारले टिउवेल ब्यवस्था गरेपछी पानी सहजता बढ्यो र अब बस्तिमा घरहरु बढेसगै सरकाले सरकारी धाराको ब्यवस्था गरेको छ यो पानी अब पिउनुपर्छ न्यौपानेको भनाइछ । तल्लो थानाभर्याङ्गका अध्यक्ष सम्शेरबहादुर बानियाँ र सिमल्टार निवासी सरस्वती फुयाल , हेटौंडा ११ वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्यपनी हेटौंडा उपमहानगर पालिका , संघ , प्रदेश सरकार र खानेपानी बोर्ड प्रती अनुग्रहित छन् ।

यस्तै वडा सदस्य बिकास नेपाल सरकारको यश कदमलाई प्रसम्सायोग्य भएको बताउँछन् । हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्टले र हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपाने यो काम ३ तहको सरकार , हेटौंडा खानेपानी ब्यवस्थापन बोर्ड र सरोकारवालाहरुको अथक प्रयासपछि सम्पन्न भएको बताउँछन् । करिब ५ करोड रुपैयाँ लगानी भएको ४ लाख ५० हजार लिटरको पानी ट्याङ्की , २ वटा समवेल , पानी सप्लाइको लागि आन्तरिक पाइप बिस्तार पानी हेरालु घर लगायतका काम भएको खानेपानी बोर्डका अध्यक्ष बिष्टले बताए । यी संरचना निर्माणमा बागमती प्रदेश सरकारको खानेपानी तथा सरसफाइ डिभिजन नम्बर १ हेटौंडाको करिब २ करोड ५० लाख , हेटौंडा खानेपानी ब्यवस्थापन बोर्डको १ करोड १२ लाख , हेटौंडा उपमहानगर पालिकाको १ करोड लगानीमा यो काम गरिएको जनाइएको छ ।

संरचनाको शिलान्यास २०८१ जेठ २२ गते मंगलबारका दिन बागमती प्रदेश सरकार खानेपानी , उर्जा तथा सिचाइ तत्कालीन मन्त्री एकालाल श्रेष्ठले गरेका थिए । शिलान्यास कार्यक्रममा हेटौंडा उपमहानगर पालिकाकी नगरप्रमुख मीनाकुमारी लामा , उपप्रमुख राजेश बानिया , वडाध्यक्ष जुना दाहाल , खानेपानी तथा सरसफाइ डिभिजन नम्बर १ कार्यालय प्रमुख हरिराम पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
-समाचार नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिति मकवानपुरले आयोजना गरेको फिचर लेखन प्रतियोगितामा छनौटमा परेको थियो । समाचारले लेखन सहभागीता जनाएबापत प्रोत्साहन स्वरुप रु ५ हजार प्राप्त गरेको थियो ।





























