बजेट कटौतीविरुद्ध हेटौँडामा अपाङ्गता अधिकारकर्मीको आन्दोलन

हेटौँडा । बागमती प्रदेश सरकारले अपाङ्गता क्षेत्रको बजेट कटौती गरेको भन्दै अधिकारकर्मीहरू आन्दोलित भएका छन्। सोमबार मन्त्रालय प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि आन्दोलनकारीले सामाजिक विकास मन्त्रालय अगाडि धर्ना दिएका छन्।

आन्दोलन परिचालन समितिका संयोजक अश्विन लम्सालले शान्तिपूर्ण धर्ना दिन खोज्दा प्रहरीले हस्तक्षेप गरेको र दृष्टिविहीनहरूको सेतो छडीसमेत खोस्न खोजेको भन्दै आपत्ति जनाउनुभएको छ। प्रहरीको व्यवहारले सहभागीहरू मानसिक रूपमा पीडित भएको भन्दै उनले माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो।

सामाजिक विकास मन्त्रालयका सचिव खुबीराम अधिकारीले बजेट पूर्ण रूपमा नहटाएको र आवश्यक परे रकमान्तरमार्फत कार्यक्रम सञ्चालन गर्ने आश्वासन दिनुभयो। तर, अधिकारकर्मीहरूले लिखित प्रतिबद्धता र बजेटको सुनिश्चिता नभएसम्म आन्दोलन जारी रहने अडान लिएका छन्।

समितिले बजेट पुनरावलोकन, प्रदेश ऐन निर्माण र स्वास्थ्य बिमालगायतका सातबुँदे माग अघि सारेको छ। आन्दोलनकारीले मंगलबार प्रदेश सभा बैठकमा अवरोध गर्ने कार्यक्रमसमेत तय गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.