हेटौंडा । ५४ औँ विश्व वातावरण दिवसका अवसरमा हेटौंडा उपमहानगरपालिका-११ का २३ वटै टोलमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। सिमलटार, गोल्फिन्टार, थानाभर्याङ, तल्लो थानाभर्याङ, स्मारक, गणेश र शान्ति टोललगायत वडाभित्रका २३ वटै टोल विकास संस्थाहरूले आ-आफ्नो क्षेत्रमा सरसफाइ गरेका हुन्।
टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा-११ का अध्यक्ष यज्ञबहादुर आचार्यले वातावरण दिवसको अवसरमा टोल-टोलमा सरसफाइ गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, दिवसकै अवसरमा संस्थाले वातावरण संरक्षणसम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ।
यसैबीच, वातावरण दिवसकै विशेष कार्यक्रम अन्तर्गत आगामी जेठ १७ गते हेटौंडा-११ मा भव्य र्याली आयोजना गरिने भएको छ। वडाका २३ वटै टोल विकास संस्थाको सहभागिता रहने उक्त र्याली हेटौंडा-११ को थानाभर्याङबाट सुरु भई नवलपुर पार्टी प्यालेसमा पुगेर सभामा परिणत हुने अध्यक्ष आचार्यले जानकारी दिनुभयो।



































































